काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवा जगतको चौतर्फी विकासका लागि सरकार हरसम्भव सहयोग गर्न कट्टिबद्ध रहने बताएका छन् । सैनिक मञ्च टुँडिखेलमा आयोजित राष्ट्रिय सेवा दल (एनसीसी) को विसं १९ सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज कार्यक्रममा उनले हालको विश्व परिवेशमा नैतिकवान, ऊर्जाशील, सिर्जनशील र देशभक्त युवाहरू देशको आवश्यकता रहेको बताए ।
‘जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी’ उक्तिलाई आत्मसाथ गर्दै चन्द्रसूर्य अंकित झण्डाप्रति सदैव अनुशासित भई शिरोपर गर्न सक्ने युवाको खाँचो राष्ट्रलाई रहने भएकाले यो कार्यक्रम नेपाल सरकारको उच्च प्राथमिकतामा परेको उनको भनाइ थियो । राष्ट्रिय सेवा दल नेपाल उक्त जनशक्ति उत्पादनमा प्रयासरत रहेको उनले बताए । बढीभन्दा बढी युवा विद्यार्थीलाई यस तालिममा समेट्न प्रयास भइरहेको उल्लेख गर्दै उनले युवाहरूलाई अनुशासित, मर्यादित, मुलुकप्रति समर्पित नागरिक बनाउन तालिमको ठूलो महत्व रहेको बताए ।
‘तपाईंहरूमाथि यहाँहरूको अभिभावकको मात्र आशा र सपनानिहीत नरही तपाईंहरूका प्राध्यापक, नातेदार र समाजको पनि सपना र आशा रहेको हुन्छ’, उनले भने, ‘त्यसैले सर्वाेत्कृष्ट समाज निर्माणका लागि युवा अवस्थामा तपाईंहरूले आफ्नो मनोबल उच्च बनाउनको साथै कुशल नेतृत्वको विकास, नैतिक आचरण र अनुशासनको पालना गर्दै आफ्नो समाज र राष्ट्रप्रतिको कर्तव्य बुझ्ने र त्यसलाई पूूरा गर्न सबल नागरिक बन्ने कार्य पनि सुरु गर्नुपर्छ ।’
कार्यक्रममा प्रधानमन्त्री ओलीले यस वर्षको तालिममा सर्वोत्कृष्ट छात्रा सैनिक आवासीय महाविद्यालय, भक्तपुरकी रेजिमा भण्डारी क्षेत्री, सर्वोत्कृष्ट छात्र गोल्डेन गेट कलेज, काठमाडौंका अनुश खत्री र सर्वोत्कृष्ट भीएस निकेतन सेकेन्डरी स्कुल, मीनभवनलाई पुरस्कार प्रदान गरेका थिए । समारोहमा राष्ट्रिय सेवा दलका सहसंरक्षकद्वय रक्षा मन्त्री मानवीर राई र प्रधान सेनापति अशोकराज सिग्देलले दीक्षित क्याडेटलाई दर्ज्यानी चिह्न प्रदान गरेका थिए ।
कार्यक्रममा प्रथम महिला राधिका शाक्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी, काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियोे । सो अवसरमा भारत र माल्दिभ्सका एनसीसी र भुटान स्काउटका प्रतिनिधि मण्डलको पनि सहभागिता थियो । युवाहरूको व्यक्तित्व विकास गर्ने उद्देश्यले ‘अनुशासन राष्ट्र सेवाको मूल जग हो’ भन्ने आदर्श वाक्यका साथ विसं २०२२ मा स्थापित सो सेवा दलले युवालाई अनुशासित, मर्यादित, मुलुकप्रति समर्पित र राज्यका संस्थाप्रति सम्मान गर्ने संस्कारयुक्त नागरिक बनाउनुका साथै विपत्तिको समयमा परिचालन गर्न सकिने तालिम प्राप्त स्वयंसेवक जनशक्ति उत्पादन गर्दै आएको छ ।
यस आर्थिक वर्षमा सो सेवा दलमा सात हजार सात सय चार छात्रछात्रा रहेकोमा आगामी वर्ष ११ हजार पाँच सय ५० पुर्याउने लक्ष्य लिइएको छ । हालसम्म ८२ हजार एक सय ८४ व्यक्ति यस सेवा दलबाट दीक्षित भइसकेको बताइएको छ । समारोहमा तालिम सफलतापूर्वक सम्पन्न गरेका ५४० जना क्याडेट छात्रछात्राहरू दीक्षित भएका थिए । कार्यक्रममा राष्ट्रिय सेवा दल नेपालका क्याडेट छात्रछात्राहरूले सांस्कृतिक प्रस्तुति एवं विविध कलाकौशल प्रस्तुत गरेका थिए ।