चन्द्रपुर (रौतहट) । लामो समयदेखि अवैधरूपमा रौतहटको चन्द्रपुर–४ चन्द्रनिगाहपुरमा अस्पताल सञ्चालन गर्दै आइरहेका एकजना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले गत शनिबार अनुगमन गर्दा दर्ता नै नभएको भेटिएको सिभिल हुम्यान एण्ड रिसर्च सेन्टर चन्द्रनिगाहपुरका सञ्चालक राजन साहलाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको हो । मुख्यमन्त्री सिंहसहितको अनुगमन टोलीले सो अस्पताललाई अस्पताल दर्ता गरेर मात्रै सञ्चालन गर्न पत्र दिएको थियो ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले उक्त पत्रको अवज्ञा गरेर साहले अस्पताल खोलेको कारण सोमबार उनलाई पक्राउ गरेको जानकारी दिए । पत्रको अवज्ञा गरेर अस्पताल सञ्चालन गरेको कारण उनलाई पक्राउ गरेको डिएसपी राईले बताए ।
गत शनिबार चन्द्रनिगापुरको ११ वटा निजी अस्पतालको मुख्यमन्त्री सिंहले अनुगमन गरेका थिए । जसमा १० वटा अस्पताल दर्ता नभएको भेटिएको थियो । अनुगमन समितिका सदस्य सचिव सन्तोष ठाकुरले एघार वटामध्ये चन्द्रपुर अस्पताल प्रालिले मात्रै अस्पताल सञ्चालनको अनुमति लिएको भेटिएको जानकारी दिए ।
हाइवे ट्रमा हस्पिटल एण्ड रिर्सच सेन्टर प्रालि, सिभिल हुम्यान एण्ड रिसर्च सेन्टर, पब्लिक लाइफ केयर पोलिक्लिनिक, एपोलो सिटी अस्पताल, चपुरसिटी अस्पताल, हिमालय पोलीक्लिनिक, चन्द्रपुर, सामुदायिक अस्पताल, नमस्ते डेन्टल क्लिनिक, चन्द्रपुर अर्थोपेडिक अस्पताल र चन्द्रपुर आखा तथा दाँत उपचार केन्द्र मुख्यमन्त्री सिंहसहितले अनुगमन गरेपछि अहिले बन्द अवस्थामा रहेको डिएसपी राईले बताए ।