पाल्पा । बस्तीबाट निस्किएको ढल सिधैँ सडक तथा नदीखोलामा पुर्याइनुको सट्टा प्रशोधन गरेर सफा पानी उपयोग गर्नेगरी पाल्पामा नमुना परियोजना सञ्चालनमा आएको छ । जिल्लाको सामाजिक क्षेत्रमा क्रियाशील रोटरी क्लब अफ तानसेनले खेर गइरहेको फोहर पानी प्रशोधन गरी थप प्रयोगमा ल्याउन ‘फोहर पानी उपचार युएमएच परियोजना’ सञ्चालनमा ल्याएको हो । रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ भुटानको ग्लोबल ग्राउन्ड फन्टअन्तर्गत क्लबले करिब चार करोड २२ लाख रुपैयाँ लागतमा उक्त परियोजना निर्माण गरेको हो । क्लबले उक्त परियोजना निर्माण गरी युनाइटेड मिसन अस्पताललाई हस्तान्तरण गरेको छ । निर्मित परियोजना रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२९२ नेपाल भुटानका निवर्तमान गभर्नर राजेन्द्रमान ध्वजु, क्लबको तानसेनका अध्यक्ष भीमबहादुर श्रेष्ठ, रोटरी इन्टरनेसनलका प्रतिनिधि एन ब्रिट, इञ्जिनियर एट आर्मरलगायतले अस्पताललाई एक कार्यक्रमका बीच उक्त परियोजना हस्तान्तरण गरेका हुन् ।
तानसेन नगरपालिका–१ मिसनस्थित नर्सिङ स्कुल नजिकैको खाली जग्गामा फोहर पानी उपचार सयन्त्रको संरचना निर्माण गरिएको छ । जहाँ मिसन अस्पताल क्षेत्रका करिब तीन सय बढी घर तथा होटल र तानसेन नर्सिङ कलेजबाट निस्किने फोहर पानीको व्यवस्थापन गरिने छ ।
यहाँ भुसलडाँडा क्षेत्रबाट आएको फोहर पानी र अस्पताल क्षेत्रबाट आएको फोहरको छुट्टाछुट्टै पाइप लाइनसँगै सेफ्टी तथा सफा पानी ट्याङ्की निर्माण गरिएको छ । रोटरी इन्टरनेसनलको आर्थिक सहयोग रहे पनि परियोजना सम्पन्न गर्न युनाइटेड मिसन अस्पताललगायत अन्य संस्थाले पनि क्लबलाई सहयोग गरेका छन् । रोटरी इन्टरनेसनलको सहयोगसँगै जिल्लाका सम्पूर्ण सरोकार भएका निकायको सहयोगका कारण परियोजना सम्पन्न गरिएको क्लबका अध्यक्ष श्रेष्ठले बताए । अस्पतालबाट निस्किएको फोहोरयुक्त पानी र घरायसी प्रयोगपछि निस्किएको पानीलाई प्रशोधन गरी पुनःप्रयोग गर्न प्रदूषित पानी उपचार संयन्त्र निर्माण गरिएको उनको भनाइ छ ।
अध्यक्ष श्रेष्ठले भने, ‘हामीले खेर गइरहेको फोहर पानीलाई प्रशोधन गरेर फेरि त्यसलाई उपयोग गर्न सकिन्छ भन्ने लागेर रोटरी इन्टरनेसनलको सहयोगमा दुई वर्ष अगाडि परियोजना अगाडि बढाएका थियौँ, आज सबैको सहयोगले उक्त परियोजना सम्पन्न गरी अस्पतालाई हस्तान्तरण गरेका छौँ ।’