काठमाडौं । स्किल सेवाको आयोजनामा नेपालमै पहिलो पटक आयोजना गरिएको राष्ट्रिय घर निर्माण फेस्ट २०८१ महोत्सवमा नेपाल इको प्यानलले सहभागिता जनाएको छ ।
नयाँ घर निर्माण सहजीकरणका लागि आवश्यक सम्पूर्ण सेवाहरू एउटै छानामुनिबाट गर्ने र निर्माणसम्बन्धी मापदण्डहरूके विषयमा समेत छलफल गर्ने गरी स्किल सेवाले तीन दिने सो महोत्सव आयोजना गरेको थियो । महोत्सवमा इको प्यानलले आफ्नो पनि स्टल राखेर सहभागिता जनाएको हो । नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर कृष्णभक्त दुवालले महोत्सवमा सहभागीलाई आफूहरूको आधुनिक निर्माण सामग्रीबारे जानकारी गराउन स्टल राखेको जानकारी दिए । नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेसनको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामग्री हो ।
फेस्टमा निर्माणसम्बन्धी अत्याधुनिक प्रविधि राखिएको थियो । साथै, सबैभन्दा सस्तो मूल्यमा तयार हुने आरसीसी घरहरूको समेत विस्तृत जानकारी गराइएको थियो । ‘हरेक व्यक्तिको लागि आफू बस्ने घर भनेको जीवनको सबैभन्दा मूल्यवान सम्पत्ति हो र यो सम्पत्तिलाई अधिकभन्दा अधिक भरपर्दो, सुरक्षित एवं दिगो बनाउनु नित्तान्त जरूरी छ, आयोजकले भनेको छ । महोत्सवले यही आवश्यकतालाई प्रभावकारी ढंगले परिपूर्ति गरेको आयोजकको दाबी छ ।
घर निर्माण फेस्टमा घरधनी, निर्माण व्यवसायी, इन्जिनियर, काठमाडौं उपत्यकका नगरपालिकाहरू, वास्तुकलाविद्, उद्यमी, विद्यार्थीलगायताका अन्य इच्छुक महानुभावले एउटै छतमुनि घर निर्माण एवं विभिन्न मर्मत सम्भारसम्बन्धी महत्वपूर्ण छलफल गरेका थिए । राजधानीको बुद्धनगरमा बिहीबारदेखि सुरु भएको सो फेस्ट शनिबार सकिएको छ ।