काठमाडौं । केही पहिले कृषिमन्त्री आफैँले कृषिको क्षेत्रमा अर्बौं रकम अनुदान गएको भनेर मन्त्रालयमा पत्रकार सम्मेलन गरेर नै बताएका थिए । मन्त्रीले कसैमाथि आक्षेप त लगाएनन् तर यो रकम जानुपर्ने ठाउँमा नगएको र पाउनुपर्ने मान्छेले नपाएको भनेर भन्न खोजिएको कुरा भने आएको थियो । प्रत्येक वर्ष कोषमा आत्मनिर्भर बन्ने भनेर अर्बौंको रकम अनुदानमा विनियोजन हुने र वितरण पनि गरिँदै आएको छ । तर यो रकम बीचमा नै केही टाठाबाठाले हत्याउने गरेको भन्ने मन्त्रालयले नै बताउने गरेको हो । तर यस्तो अनुदान कि त व्यवस्थित गरेर जसलाई दिन खोजिएको हो वा दिनुपर्ने हो त्यसका हातमा पुग्ने व्यवस्था हुनपर्यो कि अर्को व्यवस्था गर्नुप¥यो भनेर विज्ञहरूले सुझाव दिन थालेका लामै समय भयो तर यसलाई सच्याउने काम भएको छैन । फलस्वरूप आत्मनिर्भर भएको भनेर कृषितर्फ जुनजुन वस्तुको नाम लिइन्छ तिनैवस्तुको आयात दिनप्रतिदिन बढिरहेको पाइन्छ । राज्यका लागि यो निकै दुःखद् अवस्था हो । सामान्यतया नेपालमा नै उत्पादन हुने वस्तुको आयात निरन्तर बढिरहनु भनेको गम्भीर पक्ष मान्नुपर्छ ।
चालु वर्ष नेपालमा धानको रोपाइँ अरू वर्षभन्दा उच्च रहेको भनेर कृषि मन्त्रालयले नै जानकारी दिँदै थियो । वर्षाको अनुकूलताले वास्तवमा नै धानखेती वा धानको उत्पादन उच्च तहमा हुने भने त जोसुकैले अनुमान गरिहेका थिए । तर यही वर्ष विगतको भन्दा धेरै बढी हुनेगरी धान चामलको आयात भएको भन्ने देखाउने गरी रिपोर्ट आइरहेका छन् । चालु वर्षको बितेको सात महिनामा मात्रै आठ अर्ब ६८ करोड मूल्यको धान–चामल आयात भएको देखियो । यो एउटा नाका वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको गएको सात महिनामा आठ अर्ब ६८ करोड मूल्य पर्ने २२ करोड ६४ लाख आठ हजार दुई सय २९ किलोग्राम धान आयात भएछ । धान र चामल आयातको यो मात्रा गत आवको यही समय अर्थात् सात महिनाको तुलनामा धेरै बढी हो । धानको आयातको यो अंकलाई विगतको तुलनामा तौलिँदा ७२ प्रतिशतले वृद्धि भएको देखिन्छ । अघिल्लो वर्षको यो समयमा यही नाकाबाट चार अर्ब ९१ करोड मूल्य पर्ने १३ करोड १८ लाख ५९ हजार चार सय १६ किलोग्राम धान आयात भएको थियो । भन्सार कार्यालयका सूचना अधिकारीका अनुसार पनि चालु आवको सात महिनामा धान र चामलको आयातमा विगतको भन्दा ठूलो मात्रामा वृद्धि भएको देखिन्छ । गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा धान–चामलको आयात भारी मात्रामा बढेकै हो ।
नेपाल कृषिप्रधान मुलुकमा पर्छ । कृषिको मूल उपज हो धान । बिरलैले मात्र नगदेबाली भनेर धान फल्ने खेतमा अरू बाली लगाएका होलान् तर मूलभूतरूपमा त धानै हो । तराई र पहाड जता भए पनि धान उत्पादन हुने भूमिमा धानकै खेती गरिन्छ । यस्तो देशमा यता धान मात्र होइन चामल पनि विदेशी मुलुकबाटै आयात हुनु र त्यो झन् पछिल्ला वर्ष बढ्दै जानु दुःखद् नै हुनुपर्छ । चालु आवको गएको सात महिनामा यो नाकाबाट मात्र एक अर्ब ३५ करोड मूल्यका एक करोड ३३ लाख ७४ हजार आठ सय २६ किलोग्राम चामल आयात भएछन् । अघिल्लो आवको यही अवधिमा भने एक अर्ब छ करोड मूल्यका ८१ लाख १७ हजार एक सय ३० किलोग्राम चामल आयात भएको थियो । त्यस्तै, चालु आवको यही सात महिनामा दुई अर्ब ९६ करोड मूल्यको पाँच करोड ७७ लाख १४ हजार पाँच सय ८३ किलोग्राम मकै आयात भएछ । सरकारले यी विवरणलाई ख्यालमा राखेर आगामी कृषि नीति बनाओस् ।