काठमाडौँ । काठमाडौँको थापाथली चोक नजिक मंगलबार बिहान मेलम्चीको पाइप फुटेपछि जलमग्न भएको छ । पाइप फुट्दा उक्त क्षेत्रमा जलमग्न हुनुका साथै सडकसमेत अवरुद्ध भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले थापाथलीमा के कारणले पाइप लाइन फुटेको सो विषयमा पत्ता लगाइ पाइप मर्मत गरेर पानी सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।
उनले भने, “पाइप फुटेर क्षति भएको छ । के कारणले पाइप फुटेको हो । त्यसको एकीन कारण पत्ता लगाई पाइप मर्मतपश्चात पानी वितरण कार्य सुरु गरिने छ ।” पाइपको लाइन थापाथली चोकबाट नर्भिक इन्टरनेसनल अस्पताल आउने सडकमा फुटेको हो । पाइपको लाइन फुट्दा नजिकका घर र पसलमा पानी पसेको बताइएको छ ।
यसअघि पनि बबरमहल क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको काम गर्ने बेलामा खानेपानीको मुख्य पाइप लाइन फुट्दा सो क्षेत्र जलमग्न भएको थियो । त्यस क्षेत्रका सरकारी कार्यालय डुबानमा परेका थिए । काठमाडौँको थापाथली चोक नजिक मेलम्चीको पाइप के कारणले फुटेको हो सो विषयमा छानबिन गरिने बताइएको छ ।