क्यानबेरा । अष्ट्रेलियाका जेम्स ह्यारिसनको ८८ वर्षको उमेरमा निधन भएको छ । उनले १७ फेब्रुअरीमा न्यु साउथ वेल्सको एक नर्सिङ होममा अन्तिम सास फेरेका छन् । गोल्डेन आर्मको नामले प्रसिद्ध जेम्सले आफ्नो जीवनमा एक हजार एक सय ७३ पटक रक्तदान गरेर २४ लाख बालबालिकाको ज्यान बचाएका छन् ।
उनको रगतको प्लाज्मामा एउटा दुर्लभ एन्टिबडी थियो । यसबाट, रीसस नामक रोगबाट प्रभावित गर्भवती महिलाहरूको लागि एन्टी–डी नामक सुईहरू बनाइएको थियो । सो रोग लागेका महिलाहरुको आफ्नै रगतले उनीहरूको गर्भमा रहेको बच्चालाई आक्रमण नगरोस् भनेर सो सुई लागाइने गरिएको थियो । उनले आफ्नो जीवनको ६० वर्षसम्म हरेक हप्ता रक्तदान गरे ।
१८ वर्षको उमेरमा रक्तदान गर्न थाले जेम्स १४ वर्षको हुँदा उनको छातीको शल्यक्रिया भयो । यसका लागि उनलाई १३ युनिट रगत दिइएको थियो । यसले उनलाई आफैँ रक्तदान गर्न प्रेरित गर्यो ।
जेम्सले सन् १९५४ मा १८ वर्षको उमेरमा रक्तदान गर्न थालेका थिए । उनले लगभग ६० वर्षसम्म रक्तदान गरिहे । उनले अन्तिम पटक ८१ वर्षको उमेरमा रक्तदान गरेका थिए । त्यसपछि उसले आफ्नो यात्रा समाप्त भएको भन्दै दुःखी भएका थिए ।