काठमाडौं । नेपाल बिजनेस समिटको दोस्रो संस्करण आगामी वैशाखमा हुने भएको छ । दिगो र लचिलो भविष्यको लागि अर्थव्यवस्था भन्ने मूल नाराका साथ बैशाख ७ गते काठमाडौंमा सो सम्मेलन हुन लागेको हो । नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई)ले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल चेम्बर अफ कमर्सको सहयोगमा सम्मेलन गर्न लागेको जनाएको छ । सम्मेलनमा आर्थिक, बैंकिङ, उद्योग÷व्यावसायिक तथा अधिक सम्भावना बोकेका क्षेत्रहरूमा देखिएका समस्याहरूमा केन्द्रित रहेर छलफल, बहस तथा अन्तक्र्रिया गरिनेछ । उक्त बहस सत्रहरूबाट प्राप्त हुने दूरगामी महत्वका बहुपयोगी सुझावहरू समावेश भएको निष्कर्ष प्रतिवेदन बनाई उचित कार्यान्वयनका लागि तीनै तहका सरकारहरूलाई हस्तान्तरण गर्ने सम्मेलनको उद्देश्य राखिएको छ ।
एनबीआईले सो सम्मेलन आयोजना गर्नको लागि सोमबार चेम्बरसँग सम्झैता समेत गरेको थियो । चेम्बरका अध्यक्ष कमलेश अग्रवालले समग्र निजी क्षेत्र उत्साहित बन्न नसकिरहेको सन्दर्भमा आयोजना हुन लागेको यो सम्मेलनले तीनै तहका सरकार र समग्र निजी क्षेत्रको बीचमा विश्वास कायम गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि एकाकार भई अगाडि बढ्ने वातावरण सृजना गर्ने बताए । एनबिआईका कार्यकारी अध्यक्ष एवं सम्मेलन आयोजक कमिटीका संयोजक विशाल गैरेले दुई ठूला अर्थतन्त्र भएका छिमेकी मुलुक चीन र भारतबीचको गतिशील साँघु बनाई आन्तरिक लगानीलाई प्रोत्साहन गर्न सम्मेलनले सहयोग गर्ने बताए ।
यस्तै, बाह्य लगानीलाई आकर्षित गर्दै दिगो बैंकिङ विकासमार्फत औद्योगिकरण, कृषि, पर्यटन, जलविद्युत्, वनपैदावार, प्रविधि, साना तथा मझौला उद्योगको स्तरोन्नति, स्वउद्यमशीलता तथा स्टार्टअप व्यवसायहरू, भेन्चर क्यापिटल, इक्युवेशनलगायतका क्षेत्रमा लगानी विस्तार गरी दिगो र फराकिलो आर्थिक विकासका लागि यो सम्मेलन प्रस्थानविन्दु बन्ने उनको भनाइ थियो । समिटमा संघीय सरकारका उच्च राजनीतिक एवं प्रशासनिक अधिकारी, प्रदेशका मुख्यमन्त्री, स्थानीय निकायका प्रमुख, स्वदेशी तथा विदेशी विषयविज्ञ, अर्थविद्, बैंकिङविद्, दातृ निकायका प्रतिनिधि, निजी क्षेत्रका अग्रणी संस्थाका नेतृत्वगण, बैंक तथा वित्तीय संस्थाका अध्यक्ष÷सञ्चालक तथा उच्च अधिकारी, उद्योगी एवं व्यवसायी, नवप्रवर्तनीय क्षेत्रमा कार्यरत युवा तथा महिला, आईटी तथा डिजिटल प्रविधिमा संलग्न युवा, वैदेशिक रोजगारबाट फर्केको जनशक्ति तथा उच्च शिक्षाका विद्यार्थीहरूसहित करिब पाँच सयभन्दा बढीको सहभागिता रहने जनाइएको छ ।