काठमाडौं । सर्वोच्च अदालतले गरेको एउटा फैसलाको कारण हजारौँ मजदुरहरू अन्यायमा परेको होटल मजदुरहरूले गुनासो गरेका छन् । राजधानीका सोल्टीलगायत विभिन्न होटलहरूको प्राङ्गणमा मजदुरहरूले गरेको आन्दोलनमा उनीहरूले आफूले पाउनु पर्ने सेवाशुल्क सर्वोच्चले कटौती गरेर मर्कामा पारेको गुनासो गरेका हुन् ।
२ वर्षअघि सर्वोच्च अदालतले श्रमिकले पाउने १० प्रतिशत सर्भिस शुल्क खारेज गरेको थियो । सो सेवाशुल्क पुनः प्राप्तिको लागि विभिन्न तारे होटल तथा रेस्टुरेन्टका मजदुर तथा कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन् । अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुराँ मजदुर संगठनका अध्यक्ष कुमार पन्तले श्रमिकहरूले पाउनुपर्ने सेवा शुल्क पुनः प्राप्ति नहुन्जेल संघर्ष जारी राख्ने बताए । मजदुरले उपभोग गरिरहेका सेवा–सुविधालाई यो वा त्यो बहानामा कटौती गरिनु दुर्भाग्य भएको उनले बताए । ‘खाइपाई आएका सुविधाहरूलाई राज्य पूर्वाग्रही भयो भयो न्यायालय पनि प्रभावित भएर मजदुरका विरुद्धमा पक्षपाति बन्यो, अब यसविरुद्धमा जाग्नैपर्छ’, उनले भने । अध्यक्ष पन्तले दुई वर्षअघि सर्वोच्च अदालतले सेवाशुल्क खारेज गरेदेखि आफ्नो संगठन निरन्तर संघर्षमा रहेको बताए ।
आगामी चैत १ गतेबाट माइतीघर मण्डलामा धर्ना कार्यक्रम हुने उनले जानकारी दिए । सो संगठनका वरिष्ठ उपाध्यक्ष मिलन मल्लले सर्वोच्च अदालतले श्रम क्षेत्रको सेवा शुल्कसम्बन्धी व्यवस्थालाई खारेज गरेर श्रमिक विरोधी फैसला गरेको बताए । सेवा शुल्क लिन पाउने व्यवस्था नेपालको मात्रै नभएर अन्तर्राष्ट्रिय चलनमा पनि रहेको उल्लेख गरे । ‘केही उपभोक्तावादी मानिसहरूको इन्ट्रेस पूरा गर्न न्यायालय पनि प्रभावित हुँदाको परिणाम आज नेपालको दक्ष श्रमिकहरू विदेश पलायन हुन बाध्य भएका छन्’, उनले भने । संगठनका महासचिव रामकुमार खड्काले सेवाशुल्क कानुनीरूपमा लागू हुनुपर्ने मात्रै नभएर नियमित काममा स्थायी श्रमिक नियुक्तिको व्यवस्थाको लागि पनि यो संघर्ष अनिवार्य भएको बताए ।
यस्तै, संगठनका उपाध्यक्ष सुशील राजभण्डारीले पर्यटन क्षेत्रमा काम गर्ने श्रमिकहरूलाई नेपाल सरकारको श्रेणीविहीन कर्मचारी सो सरह न्यूनतमा बेतनको व्यवस्था नभए दक्ष जनशक्ति बाध्य भएर विदेशिने र देश खाली हुनेप्रति चिन्ता व्यक्त गरे । संगठनले सम्पूर्ण मजदुरहरूलाई अनिवार्य सामजिक सुरक्षा कोषमा आबद्ध गरिनुपर्ने, नियमित काममा स्थायी श्रमिक नियुक्ति गर्नुपर्ने, पर्यटन क्षेत्रमा काम गर्ने श्रमिकहरूलाई नेपाल सरकारको श्रेणीविहिन कर्मचारी सो–सरह न्यूनतम बेतन कायम गराउनुपर्ने लगायतका माग राखेको छ ।
नेपाल पर्यटन तथा होटल समबद्ध श्रमिक संघ सोल्टी इकाई समिति सचिव सुसन चौलागाईले मजदुरहरूको पक्षमा गरिएको संघर्ष सकारात्मक रहेको र त्यसमा आफ्नो संगठनको ऐक्यबद्धता जाहेर गरे । सो जागरण सभामा अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुराँ मजदुर संघका सचिवालय सदस्य रमेशलाल श्रेष्ठ, संगठनका केन्द्रीय सदस्य तथा एन्डिजका अध्यक्ष दिपक खड्का, सोल्टी होटल फ्रन्ट अफिस स्टाफ अनिता रेग्मी, सो होटलका किचेन डिपार्टमेन्ट स्टाफ ऋदेश पाण्डे, हाउसकिपिङ स्टाफद्वय रमेश थापा र मनकृष्ण खत्रीका साथै सोल्टी होटल उच्च व्यवस्थापनसहति सम्पूर्ण मजदुर तथा कर्मचारीहरूले सेवा शुल्क पुनः प्राप्ति नहुञ्जेल निरन्तर संघर्ष जारी राख्ने बताएका थिए ।
फागुन १८ गतेदेखि ललितपुरस्थित होटल हिमालय र लैनचौरस्थित होटल मल्लबाट सुरु भएको मजदुर जागरण अभियान निरन्तर चलिरहेको छ । बुधबार होटल सोल्टी, चन्द्रागिरी हिल्स, बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टलगायतका होटल तथा रेस्टुरेन्टहरूमा विभिन्न मजदुर नेताहरूको उपस्थितिमा अभियान सञ्चालन गरिएको हो ।