जनकपुर । मधेश कृषि विश्वविद्यालयका उपकुलपति डा. वैजनाथ महतो र रजिस्ट्रार श्रीभगवान् ठाकुरलाई पदबाट निलम्बन गरिएको छ । विश्वविद्यालयसभा (सिनेट) बैठकबाट उपकुलपति र रजिस्ट्रारलाई पदबाट निलम्बन गर्ने निर्णय भएको हो ।
विश्वविद्यालयका कुलपति समेत रहेका प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको उपस्थितिमा जनकपुरधाममा भएको सिनेटको बैठकले डा. महतो र ठाकुरलाई निलम्बन गरिएको मधेश प्रदेशकी शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले जानकारी दिइन् । प्रदेश सरकारका नीति तथा योजना आयोगका उपाध्यक्ष डा सोहनप्रसाद साहको नेतृत्वमा गठित तीन सदस्य समितिले गत असोज ७ मा बुझाइएको प्रतिवेदनका आधारमा दुवैजना विश्वविद्यालयको अनाधिकृत गतिविधिमा संलग्न रहेको पाइएकाले सिनेटबाट दुवैलाई बर्खास्त गर्ने निर्णय भएको जनाइएको छ । मंगलबार अबेर रातिसम्म चलेको बैठकमा विश्वविद्यालयका कुलपति एवं मुख्यमन्त्री सिंह, सहकुलपति एवं शिक्षा तथा संस्कृतिमन्त्री तिवारीलगायत विश्वविद्यालय सिनेटका पदाधिकारी तथा सदस्यहरू सहभागिता थियोे ।
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम पनि बैठकबाट पारित भएको थियोे । लामो समयदेखि सभा नहुँदा विश्वविद्यालयमा आर्थिक कारोबार ठप्प भएपछि विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले तलब पाउन सकेका थिएनन् ।