काठमाडौं । भुक्तानी नेटवर्क फोनपेले ‘सक्षम नारी’ नामक नयाँ अभियानको सुरुआत गरेको छ । जुन राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, एनआईसी एसिया बैंक, कुमारी बैंक, इ–सेवा र एभरेस्ट बैंकसँग साझेदारीमा सञ्चालित छ । यस अभियानको उद्देश्य महिलाहरूलाई डिजिटल वित्तीय समावेशन र आत्मनिर्भरतामार्फत सशक्त बनाउनु हो ।
महिलाहरूको योगदान नेपालको आर्थिक वृद्धिमा अत्यन्त महत्वपूर्ण रहेको छ र यसै आधारमा फोनपेले डिजिटल वित्तीय सेवामार्फत महिलाहरूलाई सशक्त पार्ने कार्यमा प्रतिबद्धता जनाएको छ । ‘सक्षम नारी’ अभियानको मुख्य उद्देश्य महिलाहरूमा डिजिटल वित्तीय सेवाहरूको बारेमा जानकारी र सचेतना प्रदान गर्नु हो । यो अभियानले महिलाहरूलाई डिजिटल भुक्तानीका फाइदाबारे शिक्षित गर्ने र तिनीहरूलाई दैनिक जीवनमा डिजिटल भुक्तानीको प्रयोगमा प्रेरित गर्नेछ । साथै, महिलाहरूलाई डिजिटल वित्तीय सेवाहरू प्रयोग गर्न प्रोत्साहित गर्दै उनीहरूले आफ्नो अन्य महिला साथीहरूलाई पनि यसको फाइदाबारे जानकारी दिन प्रेरित गर्ने उद्देश्य राखेको छ । यो अभियानका माध्यमबाट महिलाहरूलाई डिजिटल भुक्तानी र मोबाइल बैंकिङ बारेमा प्रशिक्षण र स्रोतहरू उपलब्ध गराइने छन् ।
महिला प्रयोगकर्ताहरूलाई यस डिजिटल परिवर्तनमा सक्रिय बनाउने उद्देश्यका साथ यो अभियान मार्च ३१ सम्म चल्ने छ । यो अभियानमा सहभागी हुन महिला प्रयोगकर्ताहरूले हाम्रो पार्टनर बैंकहरूको मोबाइल बैंकिङ एपद्वारा फोनेपेका कुनै पनि सेवाहरू न्यूनतम तीन पटकसम्म प्रयोग गर्नुपर्ने हुन्छ जसले नगद भुक्तानीबाट डिजिटल भुक्तानीको प्रणालीमा सहज र सुरक्षित संक्रमण सुनिश्चित गर्नेछ । सक्षम नारी अभियानको उद्देश्यमा महिला सहभागिता बढाउनका लागि फोनपे र पार्टनर बैंकहरूले विशेष पुरस्कार योजनाको घोषणा गरेका छन् । प्रत्येक पार्टनर बैंकबाट एक महिला भाग्यशाली बिजेताले (कुल छ भाग्यशाली विजेता) नटराज ज्वेलर्सबाट विशेष हिराका गहना प्राप्त गर्ने छन् । साथै, प्रत्येक बैंकबाट ५० महिला विजेतालाई (कुल तीन सय महिला) एक हजार रूपैयाँको सपिङ भौचर प्रदान गरिने छन् ।
अभियानको उद्देश्यका बारेमा बोल्दै फोनपेकी मार्केटिङ प्रमुख सलिना नकर्मीले भनिन्, ‘आर्थिक वृद्धिका लागि वित्तीय समावेशन अत्यन्त महत्वपूर्ण छ, तर डिजिटल वित्तीय सेवाहरूको प्रयोगमा महिलाहरूको बीचमा एक ठूलो अन्तर रहेको छ, जहाँ महिलाहरू मात्र एकतिहाइ सक्रिय डिजिटल भुक्तानी प्रयोगकर्ताहरूमा सीमित छन् । हालैको बैंकिङ तथ्याङ्कले देखाएको यो अन्तर घटाउन, हामी ‘सक्षम नारी’ अभियानलाई पुनः सुरू गर्दैछौं ।’
नेपाल डिजिटल प्राथमिक भविष्यतर्फ अघि बढिरहेका बेला ‘सक्षम नारी’ अभियानले महिलालाई डिजिटल कारोबारलाई आफ्नो दैनिकीमा सहजरूपमा अपनाउन आवश्यक ज्ञान र आत्मविश्वास प्रदान गर्ने लक्ष्य राखेको छ ।