काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सेयरको बिक्री खुला भएको छ । कम्पनीले यही फागुन २२ गते अर्थात् बिहीबारबाट एक सय रूपैयाँ अंकित मूल्य कायम रहने गरी १८ करोड ४५ लाख रूपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता साधारण सेयरको बिक्री खुला गरेको हो ।
यसअघि अर्थात् माघ १५ गतेदेखि २९ गतेसम्म कम्पनीले जारी पुँजीको १० प्रतिशत अर्थात् दुई करोड २५ लाख रूपैयाँ बराबरको दुई लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको थियो । सोपश्चात साधारण सेयरको लागि छुट्याइएको कुल सेयरमध्येमा पाँच प्रतिशत अर्थात् एक लाख १२ हजार पाँच सय कित्ता सेयर सामूहिक लगानी कोषको लागि र तीन प्रतिशत अर्थात् ६७ हजार पाँच सय कित्ता कर्मचारीका लागि छु्ट्याएर बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणको लागि बिक्री खुला गरेको हो ।
सेयर लगानीको लागि न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्री कार्य यही फागुन २६ गतेसम्म कायम रहने छ । उक्त मितिभित्र सबै सेयर बिक्री नभएकोमा ढिलोमा चैत ७ गतेसम्म सेयर बिक्री कार्य खुला हुनेछ ।