काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपालका लागि चार वर्षे (सन् २०२५–२०२९) रणनीति कार्यायोजना तयार गरेको छ । अमेरिकी चेम्बर अफ कमर्स (एमच्याम) नेपालले काठमाडौंमा आयोजना गरेको १५औँ सदस्य प्रशिक्षण कार्यक्रममा एडीबीका देशीय अपरेसन प्रमुख अर्नोड हेकम्यानले समावेशी, हरित र रोजगारमूलक आर्थिक वृद्धिसम्बन्धी तीन वटा रणनीतिक कार्ययोजना तयार पारेको जानकारी दिए ।
उक्त रणनीतिक कार्ययोजनामा निजी क्षेत्रको नेतृत्वमा रोजगारीमूलक हरित आर्थिक रुपान्तरण प्रवद्र्धन, समावेशी र गुणस्तरीय मानव पुँजी विकास तथा सार्वजनिक सेवाको प्रवद्र्धन र वातावरणी दिगोपन तथा जलवायु सशनशीलता अभिवृद्धि रहेका छन् । हाल नेपालमा एडीबीले विभिन्न ३२ वटा परियोजना सञ्चालन गरिरहेको छ । यसमा कुल चार दशमलव तीन अर्ब डलर लगानी भएको छ । ती परियोजनामार्फत निजी क्षेत्रको विकास, कृषि, शिक्षा, ऊर्जा, वित्त, उद्योग तथा व्यापार, सार्वजनिक क्षेत्र व्यवस्थापन, यातायात, सहरी विकासजस्ता क्षेत्रमा काम भइरहेको एडीबीको भनाइ छ । त्यस अवसरमा एडीबी नेपालका लागि आवासीय निर्देशक अर्नोड काउचोइसले एडीबीको नेपालमा गरिरहेका गतिविधिबारे जानकारी गराएका थिए ।
नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनले बैंकले नेपालको विकासमा निजी क्षेत्रलाई विकासको प्रमुख साझेदारको रूपमा व्याख्या गर्दै सूचना प्रविधि (आईसीटी), ऊर्जा तथा पर्यटन क्षेत्रमा विशेष ध्यान दिइरहेको उल्लेख गरेको गरे । उनले बैंकमार्फत नेपालमा पूर्वाधार विकास र खर्च बढाउँदै आर्थिक समृद्धिको आधार भएको बताए । यद्यपि सन् २०१८ यताका वर्षहरूमा खर्चमा उल्लेख्य कमी आएको उनको भनाइ थियो । बैंकले आर्थिक वर्ष २०२३ र २०२४ मा खर्च कार्यान्वयन दर ८० प्रतिशतभन्दा तल झरेको र यो प्रवृत्ति आर्थिक विकासमा चुनौती हुन सक्ने उल्लेख जनाएको छ । पर्यटन, घरजग्गा, व्यापार जस्ता सेवा क्षेत्र आर्थिक वृद्धिका प्रमुख चालक बन्ने पूर्वानुमान गरिएको उनको भनाइ छ ।
कार्यक्रममा अमेरिकी दूतावासका आर्थिक तथा व्यापारिक अधिकृत ड्यारिन क्रिस्टेन्सेनले एमच्याम नेपालद्वारा आयोजना गरिएको यो शृङ्खलाले अमेरिकी कम्पनीलाई नेपालमा व्यवसाय विस्तार गर्न उत्प्रेरित गर्ने बताए । एडीबी र विश्व बैंक समूहका परियोजनाहरूले नेपालका सूचना प्रविधि, ऊर्जा तथा पर्यटन क्षेत्रसँग प्रत्यक्ष सम्बन्ध राख्ने उनको भनाइ थियो । नयाँ दिल्लीस्थित अमेरिकी दूतावासका प्रमुख वाणिज्य अधिकृत सीआओबिङ फेङले नेपाली तथा अमेरिकी व्यवसायीहरूलाई आपसी साझेदारीमा जोड्न आफूहरू प्रतिबद्ध रहेको बताए । उनले नेपाली कम्पनीहरूलाई सेलेक्ट ‘युएसए’ कार्यक्रममा सहभागी गराउन प्रोत्साहित गर्ने जानकारी गराए ।
एमच्याम नेपालका महाप्रबन्धक अमिर आर थापाले नेपाललाई व्यापार र लगानीको सम्भावनायुक्त गन्तव्यका रूपमा स्थापित गर्ने बताए । उनले एमच्याममले अमेरिकी व्यवसाय समुदाय र नेपाल सरकारबीचको पुलको काम गरिरहेको र यसमार्फत उद्यमशीलता प्रवद्र्धन, रोजगारी सिर्जना गर्ने उनको भनाइ थियो । नेपाल र अमेरिकाबीचको व्यापारलाई अझ सहज, प्रभावकारी र लाभदायक बनाउनेतर्फ एमच्याम नेपालले काम गरिरहेको उनले बताए । उनले पर्यटन, ऊर्जा, सूचना प्रविधि, उत्पादन, सेवा क्षेत्र तथा कार्बन व्यापारजस्ता नयाँ क्षेत्रमा अमेरिकी लगानीले नेपालको आर्थिक सम्भावनाहरू खुला गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा रहेको बताए ।
कार्यक्रममा एमच्याम नेपालका सदस्य कम्पनीहरू तथा साझेदार संस्थाहरू, अमेरिकी दूतावास, क्षेत्रीय अन्तर्राष्ट्रिय व्यापार प्रशासकलगायतको सहभागिता थियो । एमच्यामको यस प्रशिक्षण शङ्खलाले नेपालमा अमेरिकी लगानीको सम्भावना अभिवृद्धि गर्न तथा आर्थिक साझेदारीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।