दोलखा । जिल्लाको वैतेश्वर गाउँपालिका–४ काब्रेका स्थानीयले खानेपानी अभावको कारण धेरै समस्या भोग्नुपरेको छ । वडा नम्बर–४ काब्रेअन्तर्गत पर्ने खड्का टोल, स्वारा, बस्नेत टोल, ठूलोचौर, सिमचौर र विक टोलका स्थानीयले वर्षौँदेखि खानेपानीको समस्या खेप्नुपरेको हो ।
उनीहरूले गाउँपालिकामै खानेपानी मुहानको प्रमुख वडा आफूहरूको रहे पनि उपभोग गर्न नपाएको गुनासो गरेका छन् । शुक्रबार स्थानीयको गुनासो सुन्ने क्रममा खड्का टोल पुगेका गाउँपालिका अध्यक्ष छवि लामालाई उनीहरूले खानेपानी समस्या समाधान गरिदिन आग्रह गरे । गाउँमा भएका खानेपानी मुहानलाई राजनीतिक स्वार्थको आधारमा गाउँका जान्ने सुन्ने तथा वडाका जनप्रतिनिधिले अन्यत्र लगेको तर आफूहरूलाई उपभोग गर्न मिल्ने गरी एउटा धारो समेत नछाडेको उनीहरूको दुखेसो थियो । संघ तथा प्रदेश सरकारबाट आउने दर्जनौँ खानेपानी योजना आफ्नै घरमाथिबाट लैजाने गरेको तर आफूहरू भने सधैँ काकाकुल बनेर बच्नु परेको स्थानीय जितबहादुर दाहालले बताए ।
गाउँका अगुवा भनिनेहरूले नै आफूहरूको गाउँ छुट्याएर खानेपानी बाँड्ने गरेको उनको गुनासो छ । आफूहरूले भोट दिएर जिताएका जनप्रतिनिधिले समेत आफूहरूको गुनासो नसुनेको दाहालले बताए । स्थानीयसँगको भेटमा पालिका अध्यक्ष छवि लामाले सो क्षेत्रका स्थानीयको आवश्यकता र खानेपानी समस्या समाधान गर्ने बताए । अध्यक्ष लामाले आफू वैतेश्वर गाउँपालिकाको अध्यक्ष बनेको सात वर्ष बित्दा समेत यहाँका स्थानीयले आफ्ना समस्या लिएर पालिकामा नआएकाले समस्या खेप्नुपरेको उल्लेख गरे ।