काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवस २०२५ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गर्ने नेपाली नारीहरूको योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गरी मनाएको छ । २०२५ आईडब्लुडी यस वर्षको नारा, ‘सबै महिला र चेलीबेटीहरूको लागिः अधिकार, समानता, र सशक्तिकरण’ विषयवस्तुमा आफ्नो ऐक्यबद्धता तथा समर्थन जनाउँदै प्रभु क्यापिटलका प्रबन्ध निर्देशक, आशीष गौचन तथा सञ्चालन विभाग प्रमुख, बसन्ता उपाध्यायले विभिन्न क्षेत्रका नेपाली महिलाहरूलाई उनीहरूको परिश्रम तथा उपलब्धिको कदर गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाउने असाधारण महिलाहरूको रूपमा सम्मानित गरेका हुन् ।
प्रत्येक वर्ष मार्च ८ मा विश्वव्यापीरूपमा अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ, जसले महिलाहरूको उपलब्धि तथा योगदानलाई सम्मान गर्नुका साथै हरेक क्षेत्रमा उनीहरूको पूर्ण सहभागिता तथा समान अवसरहरू सुनिश्चित हुनुपर्ने, नारीहरूलाई प्राथमिकतामा राखेर शिक्षा, रोजगारी, नेतृत्वमा पहुँचमार्फत सशक्तीकरणलाई बढावा दिने तथा भेदभाव र हिंसालाई चुनौती दिँदै बाधाहरू हटाएर लैङ्गिक समानतालाई प्रवद्र्धन गर्ने उद्देश्य समावेश छ ।
प्रभु क्यापिटलले सम्मान गरेका महिलाहरूमा सुगारिका केसी (पूर्वमिस नेपाल÷ कर्पोरेट प्रशिक्षक÷ प्रोफेसनल एमसी), सरिता ज्ञवाली (मिडिया पर्सनालिटी तथा उद्यमी), मानसी अग्रवाल (अन्तर्राष्ट्रिय कर्पोरेट प्रशिक्षक), पलेशा गोबर्द्धन (पहिलो नेपाली ओलम्पिक पदक विजेता, तेक्कान्दो खेलाडी), श्रेया गिरी (२०२४ फोब्र्सको प्रभावशाली युवा व्यक्तिमा सूचीकृत, संस्थापक (ह्याप्पी माइन्ड्स), सङ्गीता पाण्डे (उद्यमी – आमाको अचार), सोनिका मानन्धर तथा रम्भा श्रेष्ठ (नि. अध्यक्ष – नेपाल महिला उद्यमी संघ, ललितपुर) रहेका छन्, जो आ–आफ्नो क्षेत्रमा कठिन परिश्रममार्फत उन्नति, नेतृत्व, नवप्रवर्तन गर्दै नेपाली समाजमा मात्रै नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत प्रेरणा दिने महिलाका रूपमा चिनिन्छन् ।
प्रभु क्यापिटल मर्चेन्टसम्बन्धी सेवा प्रदान गर्ने संस्था हो, जसले आफ्ना सेवासँगै गाँसेर सामाजिक उत्तरदायित्व समेत बहन गर्दै आइरहेको छ । जसले पुँजीबजारसँग सम्बन्धित सचेतना कार्यक्रम तथा तालिम पनि प्रदान गर्छ भने सेवामध्ये सेयर लगानी व्यवस्थापन सेवा, लगानी विविधीकरणको राम्रो विकल्प मानिन्छ । ‘महिलाहरूलाई आर्थिकरूपले सबल बनाउनु भनेको समाजलाई नै सशक्त बनाउनु हो’ भन्ने अवधारणा लिई प्रभु क्यापिटलको ‘प्रभु ऐश्वर्या योजना’ पीएमएस योजना समेत सञ्चालनमा रहेको छ ।