काठमाडौं । उच्च शिक्षा अध्ययनको लागी क्यानडामा जान लागेका विद्यार्थीलाई लक्षित गरी क्यानाडास्थित जर्जियन कलेजले राजधानीमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा जर्जियन कलेजका प्रतिनिधिले क्यानडामा अन्तर्राष्ट्रिय शिक्षाका अवसर, विद्यार्थीको बसाइँ सुविधा र विद्यार्थीलाई फाइदा हुने विषयका बारेमा जानकारी गराएका थिए ।
जर्जियन कलेजका अध्यक्ष तथा सिईओ केभिन वीभरले आफ्नो कलेजले अन्तर्राष्ट्रिय विद्यार्थीलाई सहजरूपमा बसोबास गर्न मद्दत गर्ने व्यवस्था मिलाएको जानकारी दिए । साथै, उनले कलेजले विद्यार्थीको शैक्षिक यात्रामा सहयोग पुर्याउने छात्रवृत्ति र आर्थिक सहायता अवसरहरू पनि प्रदान गर्ने जानकारी दिए । अन्तर्राष्ट्रिय शिक्षा तथा विकास निर्देशक स्टेफनी बारीले कलेजको ख्यातिप्राप्त को–अप कार्यक्रमबारे चर्चा गर्दै यसले विद्यार्थीलाई अध्ययनसँगै व्यावहारिक अनुभव प्राप्त गर्न कसरी सहयोग गर्छ भन्ने बारेमा जानकारी गराएका थिए ।
शैक्षिक सहायता, सांस्कृतिक समायोजन कार्यक्रमलगायत जर्जियन कलेजले विद्यार्थीको अनुभवलाई सहज बनाउने विभिन्न उपायहरू उपलब्ध गराएको जनाइएको छ । कार्यक्रममा नेपालका शैक्षिक संस्थाहरूसँग जर्जियन कलेजले साझेदारी गर्ने पनि जानकारी गराईएको थियो । यस्तै, विद्यार्थी विनिमय र संयुक्त कार्यक्रमलाई प्रवद्र्धन गर्ने उद्देश्यले कलेजले बनाएका सहकार्यको बारेमा पनि जानकारी दिइयो ।