काठमाडौं, साउन ११
मोरङ व्यापार संघले संघीय सरकारका पूर्वआन्तरिक मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई राखेर उद्योग व्यवसायमा झेलिरहेका समस्या र समसामयिक विषयहरुमाथि छलफल गरेको छ । मोरङ व्यापार संघद्वारा आयोजना गरिएको उक्त कार्यक्रममा संघका अध्यक्ष प्रकाश मुन्दडाले पण्डितको संघमा स्वागत गर्दै कोभिड १९ को संक्रमण तथा लकडाउनका कारण स्वास्थ्य सुरक्षाको चुनौती खडा हुनुका साथै उद्योग व्यवसाय र आर्थिक गतिविधिमा समेत नकारात्मक असर पर्न गएको बताए । उनले उद्योगी व्यवसायीले करिब तीन महिनाको लकडाउनका कारण उद्योग व्यवसायका आर्थिक समस्याहरुप्रति बजेटले खासै सम्बोधन गर्न नसकेको भन्दै मौद्रिक नीतिले भने केही राहत तुल्याएको बताए ।
अध्यक्ष मुन्दडाले वर्तमान परिप्रेक्ष्यमा कोभिड १९ को संक्रमण बढ्ने क्रम जारी नै रहेकोले मुलुकमा स्वास्थ्य सुरक्षाका विशेष नीतिहरु अनिवार्य अवलम्बन गराई मुलुकको आर्थिक गतिविधिहरु चलायमान राख्न समेत अत्यावश्यक रहेको बताए । साथै धराशायी हुनेतर्फ उन्मुख भइरहेका मुलुकका आर्थिक मेरुदण्डको रुपमा रहेको औद्योगिक व्यावसायिक क्षेत्रको संरक्षण गर्न तथा मोरङ–सुनसरी औद्योगिक कोरिडोरको प्रवर्द्धनमा जोड दिन पनि सरकारको ध्यानाकर्षण गराए ।
कार्यक्रममा उद्योगी तथा व्यवसायीले लकडाउनका कारण संकटग्रस्त अवस्थामा पुगेका उद्योग व्यवसायहरुको समस्याहरु सम्बोधन गर्न सरकार चुकिरहेको आरोप लगाएका थिए । उनीहरुले उद्योग व्यवसायहरुलाई विद्युत् डिमाण्ड शुल्कमा राहत दिने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनमा नदेखिएको साथै विराटनगरमा विमानस्थलको स्तरोन्नति र मोरङ व्यापार संघले निर्माण गर्ने प्रदर्शनी स्थलका लागि बजेट विनियोजन तथा उद्योग, व्यवसायको हकहितका निमित्त संघले समयसापेक्ष राखिने मागहरुको सम्बोधनका लागि सरकारको ध्यान केन्द्रित नभएकोमा आश्चर्य समेत व्यक्त गरेका थिए ।