काठमाडौं । नेपालको पहिलो डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इ–सेवा र हिमालयन बैंकबीच विद्युतीय कारोबार सम्भव बनाउनका लागि साझेदारी भएको छ । यो साझेदारीपश्चात अब इ–सेवा प्रयोगकर्ता तथा हिमालयन बैंकका ग्राहकहरूले सहजै विद्युतीय माध्यमबाट रकम ट्रान्सफर गर्न सक्नेछन् ।
दुवै संस्थाका ग्राहकहरूलाई थप सेवा र पहुँच प्रदान गर्ने उद्देश्यले गत हप्ता एउटा औपचारिक कार्यक्रममा दुवै संस्थाका प्रतिनिधिहरूले सम्झौतापत्रमा हस्ताक्षर गरी यस सेवाको प्रारम्भ गरेका हुन् । यस साझेदारीपश्चात अब हिमालयन बैंकका ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप (एचआई–एमबी) प्रयोग गरी सिधै इ–सेवा वालेटमा रकम लोड गर्न सक्नेछन् भने इ–सेवा प्रयोगकर्ताहरूले आफ्नो इ–सेवा वालेटमा भएको रकम हिमालयन बैंकको खातामा ट्रान्सफर गर्न सक्नेछन् ।
इ–सेवामा हालसम्म ४९ वटा साझेदार बैंक तथा वित्तीय संस्थाहरू आबद्ध छन् र यसमा हिमालयन बैंक पनि जोडिएपश्चात नेपालको डिजिटल वित्तीय सेवामा थप टेवा पुग्ने अपेक्षा गरिएको छ । इ–सेवा र हिमालयन बैंकबीच भएको यस सम्झौताप्रति खुसी व्यक्त गर्दै, इ–सेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले यो सम्झौताले दुवै पक्षका ग्राहकलाई विनाझन्झट आफ्नो बैंक खाता र इ–सेवा वालेटबीच रकम ट्रान्सफर कार्य गर्न सहज बनाउने उल्लेख गरेका छन् । यस सम्झौताले ग्राहकहरूको अमूल्य समय बचाउनुको साथै डिजिटल कारोबारलाई थप सुरक्षित र प्रभावकारी बनाउने कुरामा समेत उनले जोड दिएका छन् । खड्काले भविष्यमा ग्राहकको हित तथा सहजताका लागि आवश्यकताअनुसार थप सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
इ–सेवाबारे- नेपालको पहिलो डिजिटल भुक्तानी सेवा प्रदायकको रूपमा सन् २००९ देखि इ–सेवा लिमिटेड स्थापना भएको हो । हाल नेपालको ७७ वटै जिल्लामा पहुँच भएको इ–सेवा लिमिटेड, सहरी केन्द्रमा मात्र सीमित नभएर हाल यस कम्पनीको उपत्यकाबाहिर पनि आठ वटा शाखा कार्यालयहरू र तीन वटा सम्पर्क कार्यालयहरू अवस्थित रहेको छ । मोबाइल टपअपबाट सेवा सुरु गरेको इ–सेवाले हाल इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क, होटल बुकिङ, सेयर तथा डिम्याट खाता नवीकरण, ब्लुबुक नवीकरण, इन्स्योरेन्सलगायतका दुई हजारभन्दा बढी सेवाहरूको शुल्क भुक्तानी, ईजी लोन, इस्पिकर, मर्चेन्ट लिङ्क सुविधा दिँदै आएको छ ।