काठमाडौं । नेपाल र इटालीबीच व्यापार, लगानी, पर्यटन, तथा विकासलाई प्रवर्द्धन गर्ने सम्भावनाहरूको बारेमा छलफल भएको छ । नेपालका लागि नवनियुक्त इटालियन राजदूत एन्तोनियो बार्तोली र नेपाल–इटाली वाणिज्य तथा उद्योग संघका अध्यक्ष सञ्जय अग्रवालबीच भएको भेटवार्तामा दुई देशबीच व्यापार र लगानी विस्तारमा जोड दिइएको हो ।
राजदूत एन्तोनियो बार्तोलीले पर्यटन, पूर्वाधार तथा प्रविधि क्षेत्रमा नेपालसँगको आर्थिक सहकार्यलाई अझ सशक्त बनाउने इटाली सरकारको प्रतिबद्धता रहेको बताइन् । नेपाल–इटाली वाणिज्य तथा उद्योग संघका अध्यक्ष अग्रवालले नेपाल र इटालीबीच व्यापारिक समुदायलाई जोड्ने तथा पारस्परिक लाभदायक साझेदारीहरू प्रवर्द्धन गर्ने संस्थाको भूमिकामा रहेको बताए । भेटवार्तामा छलफलको मुख्य विषयहरू द्विपक्षीय व्यापार प्रवर्द्धन, व्यावसायिक सञ्जाल विस्तार, तथा प्रमुख क्षेत्रहरूमा लगानी अभिवृद्धि गर्ने विषयहरू थिए । सो भेटवार्तामा कोलकत्ताका लागि इटालीका मानार्थ महावाणिज्यदूत रिकार्डो डाल्ला कोस्टा, नेपाल–इटाली वाणिज्य तथा उद्योग संघका मानार्थ संरक्षक राजेशकाजी श्रेष्ठ, नेपालका लागि इटालीकी मानार्थ महावाणिज्यदूत प्रतिमा राणा पाँडे तथा नेपाल–इटाली वाणिज्य तथा उद्योग संघका बोर्ड सदस्यहरूको उपस्थिति रहेको थियो ।