बेरुत । सिरियाली सुरक्षा बल र पदच्यूत राष्ट्रपति बशर अल–असदका समर्थकहरूबीच दुई दिनसम्म भएको झडप र त्यसपछिको प्रतिशोधात्मक हत्याहरू बढेपछि मृत्यु हुनेको संख्या एक हजार नाघेको छ ।
यो सिरियाको १४ वर्षअघि सुरु भएको द्वन्द्वपछिको सबैभन्दा घातक हिंसाको घटना हो । बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार सात सय ४५ सर्वसाधारण मारिएका छन् । यस्तै एक सय २५ जना सरकारी सुरक्षा बलका सदस्य र एक सय ४८ जना असदसँग सम्बन्धित सशस्त्र समूहका लडाकुहरू मारिएका छन् । लाटाकिया सहरवरपरका ठूलो क्षेत्रमा बिजुली र खानेपानी काटिएको अब्जर्भेटरीले बताएको छ ।
असदलाई सत्ताबाट हटाएपछि विद्रोहीहरूले सत्ता लिएको तीन महिनापछि बिहीबार भड्किएको झडपले दमास्कसमा नयाँ सरकारलाई ठूलो चुनौती दिएको छ । सरकारले असदका बलहरूको अवशेषबाट भएको आक्रमणको जवाफ दिइरहेको र व्यापक हिंसाका लागि ‘व्यक्तिगत कार्यहरू’लाई दोष दिएको बताएको छ ।
सुन्नी र अलावीबीच प्रतिशोधात्मक हत्याहरू
असदको अल्पसंख्यक अलावी सम्प्रदायका सदस्यहरूविरुद्ध सरकारप्रति वफादार सुन्नी मुस्लिम बन्दुकधारीहरूले शुक्रबार सुरु गरेको प्रतिशोधात्मक हत्या पूर्वसरकारको पतनको नेतृत्व गर्ने गुट हयात ताहरिर अल–शामका लागि ठूलो धक्का हो । अलावीहरूले दशकौँसम्म असदको समर्थन आधारको ठूलो हिस्सा बनाएका थिए ।
अलावी गाउँ र बानियास सहरका बासिन्दाहरूले एसोसिएटेड प्रेससँग हत्याहरूको बारेमा कुरा गर्दै बन्दुकधारीहरूले अलावीहरूलाई, अधिकांश पुरुषलाई, सडकमा वा उनीहरूको घरको गेटमा गोली हानेको बताए । सिरियाको तटीय क्षेत्रका दुई बासिन्दाले एपीलाई आफ्नो लुक्ने ठाउँबाट विभिन्न क्षेत्रहरूमा अलावीहरूका धेरै घरहरू लुटिएका र त्यसपछि आगो लगाइएको बताए ।
उनीहरूले बन्दुकधारीहरूद्वारा मारिने डरले आफ्नो नाम सार्वजनिक नगर्न अनुरोध गरे । हजारौँ मानिस सुरक्षाका लागि नजिकैको पहाडतर्फ भागेको उनीहरूले थप जानकारी दिए ।
हिंसाबाट सबैभन्दा बढी प्रभावित बानियास सहरका बासिन्दाहरूले सडकहरूमा लाशहरू छरिएका वा घरहरू र भवनहरूको छतमा गाडिन नपाएका अवस्थामा छोडिएको र कसैले पनि उनीहरूलाई सङ्कलन गर्न नसकेको बताए । एक बासिन्दाका अनुसार बन्दुकधारीहरूले बासिन्दाहरूलाई शुक्रबार नजिकबाट मारिएका आफ्ना पाँच छिमेकीको शव हटाउन घन्टौँसम्म रोकेका थिए ।
परिवार र छिमेकीहरूसँग शुक्रबार हिंसा फैलिएको केही घण्टापछि भागेका बानियासका ५७ वर्षीय बासिन्दा अली शेहाले अलावीहरू बस्ने बानियासको एक क्षेत्रमा उनका कम्तीमा २० छिमेकी र सहकर्मी मारिएको र तीमध्ये केही आफ्नै पसलमा वा घरमा मारिएको बताए ।
सर्वसाधारणको हत्या बन्द गर्न संयुक्त राष्ट्र संघको आग्रह
संयुक्त राष्ट्र संघले आइतबार सिरियामा भएको हिंसा तत्काल अन्त्य गर्न आह्वान गरेकाके छ । संयुक्त राष्ट्र मानव अधिकार प्रमुख भोल्कर टर्कले हत्याको अनुन्धान गर्न पनि अग्रह गरेका छन् ।