काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नवनियुक्त कर्मचारीहरूलाई पूर्वसेवाकालीन तालिम प्रदान गरेको छ । बैंकका अनुसार लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तर्वार्ताबाट गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि प्रदेशगतरूपमा छनौट भएका नवनियुक्त सहायक (प्रशासन सेवाका) ९४ जना कर्मचारीहरूलाई १४ दिने पूर्वसेवाकालीन तालिम काठमाडौंमा सञ्चालन गरिएको हो ।
तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले तालिमले बैंकिङ कामप्रतिको ज्ञान बढाउनुका साथसाथै काम गर्ने दौरानमा कामप्रति स्मार्टनेस, सकारात्मकता र सेवाभाव झल्किने बताए । उनले नवनियुक्त युवा कर्मचारीहरूलाई प्रतिस्पर्धी बजारमा खरोरूपमा उत्रनुका साथै जनताको असल सेवक हुनुपर्ने बताए । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरू सरस्वती अधिकारी र देवेशप्रसाद लोहनीले नवनियुक्त कर्मचारीहरूलाई कार्यस्थलमा जिम्मेवारी बहन गर्दा अपनाउनुपर्ने कर्तव्य बोध गराए । कार्यक्रममा मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त सहायक ९४ जना कर्मचारीहरूलाई बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम सपथ गराए । कार्यक्रम मानव संशाधन विभागका विभागीय उपप्रमुख हरिबाबु आचार्यले सञ्चालन गरेका थिए ।
कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरू पवन रेग्मी, विमल डंगोल, दुर्गा कुमारी कँडेल, विभागीय प्रमुख पद्यमा लक्ष्मी जीसीलगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकामसहित दुई सय ९४ वटा शाखा कार्यालय, ७२ वटा एक्सटेन्सन काउन्टर, तीन सय १२ वटा एटिएम र ९९ वटा शाखारहित बैंकिङ रहेको छ ।