काठमाडौं, साउन ११
यस साता सेयर बजार परिसूचक १४ सय ४२ दशमलव ६१ अंकमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय तीन दशमलव ९० अंकमा पुगेर रोकिएको छ । यस साता धितोपत्र बजारमा एक सय ७३ कम्पनीहरुको कारोबार भएका छन् । जसअनुसार एक लाख २८ हजार तीन सय २६ वटा कारोबारमा एक करोड ९१ लाख ३७ हजार तीन सय ११ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम सात अर्ब ५९ करोड ६६ लाख ६७ हजार तीन सय ८९ रुपैयाँ पुगेको छ । कारोबार रकम गत साताको तुलनामा झण्डै दुई अर्ब रुपैयाँले बढी हो ।
गत साता भने धितोपत्र बजारमा एक सय ६६ कम्पनीहरुको कारोबार भएका थिए । जसअनुसार ७९ हजार दुई सय नौ वटा कारोबारमा एक करोड ६१ लाख सात हजार पाँच सय ७८ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम पाँच अर्ब ३९ करोड ६६ लाख १३ हजार आठ सय ८८ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्य दिन नै खुल्ला रहेको थियो । सो मध्ये पहिलो र पाँचौं दिन बजार उकालो लागेको भएपनि बाँकी दिन बजार ओरालो लागेको थियो ।
दैनिक सेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलो दिन बजार परिसूचक ८४ दशमलव २६ अंकले बढेर १४ सय ७९ दशमलव तीन अंकमा चढेको थियो । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १७ दशमलव ३९ अंकले उकालो लागेर तीन सय १२ दशमलव ४४ अंकमा चढेको थियो । दोस्रो दिन भने बजार परिसूचक १४ दशमलव नौ अंकले ओरालो लागेर १४ सय ६४ दशमलव ९४ अंकमा झर्दा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ८४ अंकले ओरालो लागेर तीन सय नौ दशमलव ६० अंकमा झरेको थियो । तेस्रो दिन पनि बजार परिसूचक ओरालो लागेको थियो ।
उक्त दिन बजार परिसूचक १४ दशमलव ९९ अंकले ओरालो लागेर १४ सय ४९ दशमलव ९४ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ५६ अंकले ओरालो लागेर दुई सय ८४ दशमलव १८ अंकमा झरेको थियो । यसैगरी चौंथो दिन पनि बजार परिसूचक १७ दशमलव पाँच अंकले ओरालो लागेर १४ सय ३२ दशमलव ४४ अंकमा झर्दा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव नौ अंकले ओरालो लागेर तीन सय तीन दशमलव १४ अंकमा झरेको थियो । अन्तिम कारोबार दिन भने बजार परिसूचक १० दशमलव १३ अंकले उकालो लागेर १४ सय ४२ दशमलव ६१ अंकमा चढेको थियो । उक्त दिन सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ७४ अंकले उकालो लागेर तीन सय तीन दशमलव ९० अंकमा चढेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने नेपाल पुनर्बीमा कम्पनी, एनएमबी बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एनआईसी एसिया बैंक परेका छन् । कारोबार भएको सेयर संख्याको आधारमा पनि एनएमबी बैंक, नेपाल पुनर्बीमा कम्पनी, एनआईसी एसिया बैक, ग्लोवल आईएमई बैंक आदि परेका छन् । बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीहरु अगाडि परेका छन् । यस साता अरुण भ्याली हाइड्रोपावर कम्पनी, चौतारी लघुवित्त वित्तीय संस्था, आरम्भ लघुवित्त वित्तीय संस्थासहितका १२ वटा संस्थाको बोनस तथा ऋणपत्र सुचीकृत भएका छन् ।