काठमाडौं । सूचना प्रविधिको क्षेत्रमा लैंगिक विविधता अभिवृद्धिमा जोड दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा एडब्लुएस युजर ग्रुप वुमन इन टेक नेपालले राजधानीमा आयोजना गरेको एडब्लुएस वुमन समिट नेपाल, २०२५ मा सहभागीहरूले प्रविधिमा महिलाहरूको सहभागिता बढाउँदै डिजिटल युगमा समावेशिता र नवीनता प्रवर्द्धनमा जोड दिएका हुन् ।
सम्मेलनमा सहभागी अधिकांशले सूचना तथा प्रविधिको क्षेत्रमा महिलाको पहिचान, अवसर र नेतृत्व बढाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका थिए । सम्मेलनमा क्लाउड प्रविधिमा नवीनतम प्रयोग, व्यावसायिक अवसर र समावेशीकरणका विषयमा बृहत् छलफल भएको थियो । सम्मेलनमा देश तथा विदेशका प्रविधि विज्ञ, क्लाउड विशेषज्ञ, उद्यमी तथा विद्यार्थीको उपस्थिति थियो । एडब्लुएस एसिया प्रशान्त तथा जापान क्षेत्रका डेभलपर रिलेसन प्रमुख मौना निलाकण्ठाले क्लाउड प्रविधिको बढ्दो प्रभाव, नवीनता र समावेशीको महत्व र आवश्यकताका विषयमा चर्चा गरिन् । उनले प्रविधिमा महिलाको उपस्थितिलाई अझ मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याइन् ।
नेपालमा ब्लकचेन स्टार्टअपमा महिलाहरू विषयक सत्रमा रुमी सिंहले आफ्नो अनुभव राख्दै यस क्षेत्रमा महिलाहरूको सहभागिता बढाउनुपर्नेमा जोड दिइन् । साथै, रूचि पाण्डेले प्रविधिको क्षेत्रमा करिअर निर्माण र स्टार्टअपमा सफलताका लागि पीआर र व्यक्तिगत ब्रान्डिङको महत्व र आवश्यकताबारे चर्चा गरिन् । सम्मेलनमा क्लाउड युगमा विविधता, समानता र समावेशिता प्रवर्द्धन शीर्षकको समूहगत छलफलका क्रममा प्रविधिको क्षेत्रमा महिलाका लागि अवसरका विषयमा गहन छलफल भएको थियो । साथै, क्लाउडका नवीनतम प्रविधि, व्यावसायिक अवसर र प्रविधि क्षेत्रमा समावेशीकरणलाई बढावा दिने गरी विभिन्न विषयमा कार्यशाला आयोजना समेत गरिएको थियो ।
बुस्ट प्रडक्टिभिटी एन्ड ह्याप्पीनेस विथ एडब्लुएस जेनएआई शीर्षकको कार्यशालामा एडब्लुएस जेनेरेटिभ एआईले कसरी कार्यालयको क्षमता बढाउन सहयोग गर्छ भन्ने विषयमा चर्चा गरिएको थियो । साथै, एडब्लुएस क्लाउडः बिल्ड एनिथिङ, स्केल एभ्रिवेयर, इनोभेट फास्टर शीर्षकको कार्यशालामा स्टार्टअप, व्यापार र डेभलपरको क्षेत्रमा एडब्लुएसले कसरी असीमित अवसर सिर्जना गरिरहेको छ भन्ने विषयमा छलफल गरिएको थियो । यस्तै, स्केलिङ युअर, स्किल्सः एडब्लुएस क्लाउड एज अ प्लेटफर्म फर कन्टिनियस लर्निङ शीर्षकको कार्यशालामा एडब्लुएस प्रमाणपत्र र स्रोतको उपयोग गर्दै करिअर निर्माण गर्न सकिनेमा जोड दिइएको थियो ।