काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानबीच सम्झौता भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको ‘राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा अटोमोबाइल क्षेत्रमा रोजगारमूलक छोटो अवधिको तालिम विकास, सञ्चालन र प्रशिक्षार्थीहरूलाई रोजगारीको सुनिश्चितता गर्ने गरी सम्झौता भएको हो ।
सम्झौताले रोजगारी र श्रमिकहरूको अभिवृद्धिका लागि सरकार र नेपालको निजी क्षेत्र समन्वयात्मरूपमा अघि बढ्ने अपेक्षा गरिएको छ । यसलाई नाडाले सरकारको हरेक कदममा निजी क्षेत्रलाई समेत सहभागी गराई अघि बढ्ने संकल्पको रूपमा लिएको जनाएको छ । उक्त सम्मेलनमा नाडाका अध्यक्ष करण चौधरीले अटोमोबाइल उद्योगमा सीप विकास र रोजगारीका विषयमा नीतिगत सुझावहरू समेत दिएका थिए । अध्यक्ष चौधरीले नेपालमा रोजगारीको स्थिति, विदेशमा बसाइँसराइ, विदेशमा बढ्दो बसाइँसराइले पारेका प्रभावहरू, नेपाली विद्यार्थीहरूले अन्य मुलुकहरूमा जानका लागि गरिरहेको प्रयास र त्यसबाट देशमा परेको प्रभाव, रोजगारीका चुनौतीहरू, नेपालको अटोमोबाइल क्षेत्रले राजस्वमार्फत देशको अर्थतन्त्रमा दिएको योगदान, अटोमोबाइल क्षेत्रले दिने रोजगारीमा देखिएका चुनौतीहरू, नीतिगत सिफारिस र तत्कालै गर्नुपर्ने पहलहरूका विषयमा तथ्याङ्कगत प्रस्तुति दिएका थिए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार प्रवद्र्धन भन्ने नाराका साथ आयोजित सो सम्मेलनको नाडा वित्तीय सहयोगी समेत हो । आफ्नो इतिहासमा पहिलोपटक नाडा यस्तो सम्मेलनमा सहभागी भएको जनाइएको छ । सम्मेलनमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, केन्द्रीय कार्यसमिति आमन्त्रित सदस्य नारायणप्रसाद पौडेललगायतको सहभागिता थियो ।