वासिङ्टन । टेस्ला र स्टारलिंकका सीईओ एलोन मस्कले युक्रेनको इन्टरनेट बन्द गर्ने धम्की दिएका छन् । आइतबार मस्कले आफ्नो सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै युक्रेनमा आफ्नो स्टारलिंक इन्टरनेट प्रणाली बन्द गर्ने धम्की दिएका हुन् ।
उनले भनेका छन, ‘स्टारलिंक प्रणाली युक्रेनी सेनाको मेरुदण्ड हो । युक्रेनले अन्ततः हार्ने युद्ध र नरसंहारको बारेमा म चिन्तित छु ।’ स्टारलिंक इन्टरनेट प्रणाली युक्रेनलाई सैन्य सञ्चार कायम राख्न सहयोगी भएको मस्कले दाबी गरेका छन् ।
यद्यपि, पछि उनले अर्को एक्स पोस्टमा स्पष्ट पार्दै भनेका छन्, ‘युक्रेनको नीतिको जतिसुकै विरुद्धमा भए पनि, म त्यहाँ स्टारलिंकको टर्मिनल कहिल्यै बन्द गर्ने छैन । म स्टारलिंक इन्टरनेटलाई मोलमोलाईको रूपमा प्रयोग गर्दिन ।’
स्टारलिंकले लो–अर्थ अर्बिटमा उपग्रहहरूको नेटवर्क सञ्चालन गर्दछ र यसमार्फत धेरै देशहरूमा अन्तरिक्ष–आधारित ब्रोडब्यान्ड कनेक्टिभिटी प्रदान गर्दछ । कम्पनीले विश्वको जुनसुकै ठाउँमा पनि स्याटेलाइटबाट स्मार्टफोनमा सिधै इन्टरनेट सेवा प्रदान गर्न सक्छ ।
सामान्यतया, इन्टरनेट उपग्रहहरू पृथ्वीबाट ३६ हजार किलोमिटरको दूरीमा परिक्रमा गर्छन्, तर मस्कको स्टारलिंक उपग्रहहरू पृथ्वीबाट पाँच सय ५० किलोमिटरको दूरीमा परिक्रमा गर्छन् ।
सामान्य स्याटेलाइट इन्टरनेट विलम्बता छ सय मिलिसेकेन्ड वा शून्य छ सेकेन्ड हुन्छ । साथै, स्टारलिंक स्याटेलाइटबाट इन्टरनेटको विलम्बता २० मिलिसेकेन्ड शून्य दशमलव शून्य दुई सेकेन्ड छ । यसको अर्थ पृथ्वीबाट कुनै पनि डेटा उपग्रहमा यात्रा गर्न र उपग्रहबाट फर्कन शून्य दशमलव शून्य दुई सेकेन्ड लाग्छ ।