बर्लिन । जर्मनीका सबै विमानस्थलका कर्मचारीहरूले एकदिने हडताल गरेका छन् । यसका कारण सोमबार (नेपाली समयअनुसार) देशभरको हवाई यात्रा ठप्प भएको छ । हडतालका कारण फ्रान्कफर्ट र म्युनिखजस्ता प्रमुख विमानस्थलसहित देशभरका १३ प्रमुख विमानस्थलहरूमा चीन हजार चार सय उडानहरू रद्द भएका छन् । यसले गर्दा पाँच लाखभन्दा बढी यात्रु प्रभावित भए ।
देशमा २५ लाख सरकारी कर्मचारी रहेको भेर्डी युनियनले तलब वृद्धिको माग गर्दै यो हडतालको आह्वान गरेको थियो । जर्मन समयअनुसार यो हडताल सोमबारबाट सुरु हुनेथियो, तर यो निर्धारित समयभन्दा एक दिनअघि आइतबार सुरु गरिएको थियो । यस हडतालमा सार्वजनिक विभागका कर्मचारी, जमिन कर्मचारी र सुरक्षा गार्डहरू समावेश छन् । यसका कारण, धेरैजसो जर्मन विमानस्थलहरूमा विमान आवागमन रोकिएको थियो ।
विमानस्थलका श्रमिकहरुले आफूहरुको तलब आठ प्रतिशत वा प्रतिमहिना न्यूनतम तीन सय ५० युरो बढाउन माग गर्दै आन्दोलन गरेका हुन् । केही महिनायता श्रमिक संघहरुले कर्मचारीहरुको तलब वृद्धिका लागि नयाँ सम्झौता गर्न वार्ता गरिरहेको थियो ।
उनीहरुले तलब वृद्धिसँगै स्वास्थ्य र सुरक्षा प्रणालीमा सुधार गरिनुपर्ने, बिदा बढाइनुपर्ने, बोनस पचास प्रतिशत बढाउनुपर्ने र कर्मचारीको अनिवार्य र निःशुल्क चिकित्सा परीक्षणको लागि डाक्टर छनोट गर्ने स्वतन्त्रता दिनुपर्छ भन्ने माग राखेका छन् ।