धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१३ स्थित प्रादेशिक आपतकालीन गोदामघर हस्तान्तरण कार्यक्रममा गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनका लागि सरोकारवाला सबै मिलेर काम गर्नुपर्ने बताएका छन् ।
गृहमन्त्री लेखकले काठमाडौँमा रहेको आपतकालीन गोदामघरलाई केन्द्रीय आपतकालीन गोदामघरको रुपमा विकास गर्ने योजना रहेको बताए । उनले वैदेशिक सहयोगबाट प्राप्त सामग्री तथा सरकारले खरिद गरेरै भए पनि प्रदेशमा रहेका आपतकालीन गोदामघरलाई आवश्यक सामग्री उपलबध गराइने बताए ।
गृहमन्त्री लेखकले सरकारले प्रदेशलाई हस्तान्तरण गरेको आपतकालीन गोदामघरको रेखदेख गर्ने जिम्मेवारी अब प्रदेश सरकार भएको उल्लेख गरे । उनले विपद्मा प्रदेश सरकारसँग समन्वय गरेर काम गर्न मातहतका निकायलाई निर्देशन दिए ।
सो अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रादेशिक आपतकालीन गोदामघर गृहमन्त्री लेखकले हस्तान्तरण गरे । कार्यक्रममा विपद् न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. भीष्मकुमार भुषाललगायतको उपस्थिति रहेको थियो ।