मोरङ । प्रधानमन्त्री केपी ओलीले आमयुवा विद्यार्थीलाई पलायन हुने नभइ देश निर्माणमा लाग्न आग्रह गरेका छन् । पूर्वाञ्चल विश्वविद्यालयको १३औँ दीक्षान्त समारोहमा दीक्षित विद्यार्थीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश र जनताका लागि इमान्दारीपूर्वक सेवा गर्नुपर्नेमा जोड दिए ।
विश्वविद्यालयमा आर्जेको ज्ञान देशकै हितमा लगाउनुपर्ने र त्यसका लागि सहज वातावरण बनाउन सरकारले सम्पूर्णरूपमा प्रयत्न गरिरहेको उनले बताए । विश्वविद्यालयको कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले विश्वविद्यालयको विकासका लागि सङ्घीय सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए । दीक्षान्त समारोहमा आठ हजार एक सय ५० विद्यार्थी दीक्षित भएका थिए । विश्वविद्यालयका सूचना अधिकारी टेकप्रसाद अधिकारीका अनुसार कला संकायतर्फ दुई सय चार, कानुनतर्फ चार सय ९७, शिक्षाशास्त्रतर्फ नौ सय छ, व्यवस्थापनतर्फ दुई हजार दुई सय ४९, चिकित्साशास्त्रतर्फ दुई हजार एक सय ९८, विज्ञान तथा प्रविधि संकायतर्फ छ सय ५४ तथा इञ्जिनियरिङतर्फ एक हजार चार सय ४२ विद्यार्थी दीक्षित भएका छन् ।