काठमाडौं । नेपालमा आईफोनको आधिकारिक विक्रेता जोय स्टोर र माछापुच्छ्रे बैंकबीच सम्झौता भएको छ । आईफोन निर्माता कम्पनी एप्पलका उत्पादन नेपालमा खरिद बिक्री सम्बन्धमा दुई संस्थाबीच सम्झौता भएको हो ।
उक्त सम्झौतामा जोय स्टोरका तर्फबाट कम्पनीका प्रवन्ध निर्देशक गुरुदत्त शर्मा र माछापुच्छ्रे बैंकका तर्फबाट शाखा कार्यालय न्युरोड, काठमाडौंका शाखा प्रमुख निशेष केसीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार नेपालमा आईफोनको आधिकारिक विक्रेता जोय स्टोरबाट एप्पलका सामान खरिदमा माछापुच्छ्रे बैंकका कर्मचारी तथा ग्राहकहरूले छुट सुविधा लिन सक्नेछन् । जोय स्टोरका अनुसार उक्त छुट एप्पलका उप्पादनहरूमा माछापुच्छ्रे बैंक लिमिटेडका कर्मचारी एवं सेवाग्राहीहरूलाई अधिकतम २० प्रतिशतसम्म छुट पाउनेछन् ।
माछापुच्छ्रे बैंकका कर्मचारी एवम् सेवाग्राहीहरूलाई सरल र सुलभ मूल्यमा एप्पलका उत्पादन उपलब्ध गराउनका लागि उक्त सम्झौता गरिएको जोय स्टोरका प्रबन्ध निर्देशक शर्माले जानकारी दिए । उक्त छुटका लागि कर्मचारी तथा बैंकका ग्राहकहरूले खाता भएको प्रमाण पुग्ने कागजपत्र देखाउनुपर्नेछ, उनले भने, सोही आधारमा जोय स्टोरले छुटमा एप्पलका सामान उपलब्ध गराउनेछ ।
काठमाडौंमा ताम्राकार कम्प्लेक्स र पोखराको महेन्द्रपुलबाट आधिकारिकरूपमा आईफोनलगायत एप्पलका उत्पादनहरू बिक्री गर्दै आएको छ । जोय स्टोरका प्रबन्ध निर्देशक शर्मा ताम्राकार मोबाइल व्यवसायी संघका अध्यक्ष समेत हुन् । नेपाली उपभोक्ताहरूलाई एप्पलका जेनुयन उप्पादनहरू उपलब्ध गराउने उद्देश्यअनुसार आफूले आधिकारिक विक्रेताको रूपमा काम गर्दै आएको समेत उनले जानकारी दिए । जोय स्टोरले एप्पलका उप्पादनहरू आईफोन, म्याकबुक, एप्पल बाच, एयरपड, हेडफोन र अन्य एसेसोरिजहरू बिक्री गर्दै आएको छ साथै जोय स्टोरले बिक्री गर्दै आइरहेको एप्पलका मोबाइलहरूमा दुई वर्षको वारेन्टी, एक वर्षको इन्सुरेन्स, म्याकबुकमा दुई वर्षको वारेन्टी र एयरपडमा समेत दुई वर्षको वारेन्टीको सुविधा दिइरहेको प्रबन्ध सञ्चालक शर्माले जानकारी दिए ।