काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको ३१ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको अध्यक्षतामा काठमाडौंमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
साधारणसभा र लाभांश वितरणको प्रयोजनका लागि कम्पनीको सेयरधनी दर्ता २०८१ फागुन १५ गते बन्द गरीएको थियो । २०८१ फागुन १४ गतेसम्म कायम सेयरधनीले साधारणसभामा भाग लिई कम्पनीको लाभांश प्राप्त गर्नेछन् । साधारणसभाबाट आव ०८०/८१ को वार्षिक प्रतिवेदन, वासलात, नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण, ईक्विटीमा भएको परिवर्तन आदि पारित गर्नुका साथै सोही आवको मुनाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजीको आठ दशमलव ७५ का दरले हुन आउने रकम २१ करोड ८७ लाख ६३ हजार सात सय ७३ रूपैयाँ बराबरको नगद लाभांश समेत पारित गरेको छ । सभाबाट आव ०८१/८२ को लागि कम्पनीको बाह्य लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक समेत लेखापरीक्षण समितिले सिफारिस गरेबमोजिम अनुमोदन गरेको कम्पनीले जानकारी दिएको छ ।
सभालाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष श्रेष्ठले कम्पनीको प्रविधि र प्रतिभामा वर्तमानमा गरेको लगानीको माध्यमबाट दीर्घकालीनरूपमा स्रोतहरूको परिचालन गरी दिगो लाभ लिन सकिनेमा विश्वास लिएको बताए । साथै, उनले सबै सरोकारवालाहरूको विश्वास र सहयोगबाट कम्पनीलाई गतिशील बनाउँदै निर्जीवन बीमा क्षेत्रमा अग्रणीरूपमा स्थापित हुनेमा आफू पूर्णरूपमा विश्वस्त रहेको पनि उल्लेख गरे ।
त्यसैगरी, साधारणसभामा आफ्नो स्वागत मन्तव्य राख्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले नविनतम प्रविधिको प्रयोगबाट निर्जीवन बीमाका ग्राहकहरूलाई सेवा प्रदान गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमै प्रतिष्ठित संस्था बनाउने आफ्नो अधिकतम प्रयास रहेको बताइन् । त्यस्तै, साधारणसभामा सेयरहरूका तर्फबाट जगन्नाथ आचार्य, उत्तमदत्त पाण्डे, सुदिप श्रेष्ठलगायतका सेयरधनीहरूले आफ्नो मन्तव्य राखेका थिए । कम्पनीले आठ दशमलव ७५ प्रतिशत नगद लाभांश प्रदान गरेकोमा अधिकांश सेयरधनीहरूले खुसी व्यक्त गरेका थिए । सभामा सञ्चालक समितिका सदस्यहरू, सेयरधनीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।