गुल्मी । नेपाली कांग्रेसको जिल्लास्थित पार्टी कार्यालय बीपी स्मृति भवन तम्घासमा भएको नेपाल किसान महासंघ गुल्मीको चौथो जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा राष्ट्रियसभा सदस्य विष्णुकुमारी सापकोटाले कृषि पेशामा आधुनिकता ल्याउनुपर्ने बताएकी छिन् ।
कृषिजन्य उत्पादनमा वृद्धि गर्न आम कृषकहरु लाग्न जरुरी रहेको भन्दै सांसद सापकोटाले नेपाल कृषि प्रधान देश भएको हुँदा नेपाललाई कृषिमा आत्मनिर्भर बनाउनुपर्ने बताइन् । कृषि हाम्रो देश पहिचान समेत भएको हुँदा कृषि पेशामा आधुनिकता सरकारका सबै पक्ष लाग्नुपर्ने उनले बताइन ।
कृषि पेशालाई नयाँ पुस्ताले पनि सिक्न जरुरी रहेको भन्दै सांसद सापकोटाले कृषि पेशा संग नयाँ पुस्तालाई जोड्ने महत्त्वपूर्ण कार्यक्रमहरु सरकारले ल्याउनुपर्ने बताइन् । उनले सरकारका सबै पक्षले वास्तविक कृषकलाई अनुदान लगायतका विभिन्न सुविधासँग जोड्न विशेष ध्यान दिनुपर्ने बताइन् ।
उत्पादनका लागि नेपालको उर्वरा भूमिलाई प्रयोग गर्न सरकारले विशेष नीति ल्याउन जरुरी रहेको भन्दै उनले किसानहरु आफ्नो पेशागत हकहितका लागि क्रियाशीलसँगै एकताबद्ध भएमा समुन्नत नेपाल निर्माणमा निकै टेवा पुग्ने बताइन् । सबै कृषकहरु कृषि पेशालाई अब्बल बनाउने गरी लाग्नुपर्ने उनको भनाइ छ ।