काठमाडौँ, साउन ११
मेगा बैंक नेपाल लिमिटेडले व्यावसायिक किसानहरुलाई प्राथमिकता दिँदै ‘मेगा किसान कार्ड’सहितको ‘मेगा स्मार्ट कृषि’ सेवा बजारमा ल्याएको छ । स्थापनाकालदेखि नै ‘हलोदेखि हाइड्रोसम्म’लाई मुल मन्त्र बनाएको मेगाले व्यावसायिक किसानहरुको सम्मानस्वरुप ‘मेगा किसान कार्ड’ सुविधा ल्याएको जानकारी दिएको छ । किसानहरुलाई सहजरुपमा बैंकिङ सुविधा प्रदान गर्दै देशलाई कृषिमा आत्मनिर्भर बनाउने सरकारी नीतिलाई सहयोग गर्ने उद्देश्यले ‘मेगा किसान कार्ड’ ल्याएको र यो नेपालकै नवीनतम् बैंकिङ अफर भएको जानकारी पनि बैंकले दिएको छ ।
मेगा किसान कार्डमार्फत किसानहरुले आफूलाई आवश्यक पर्ने मलखाद, बीउबीजनलगायत सम्पूर्ण कृषि उत्पादनसँग सम्बन्धित विभिन्न सामानहरु तोकिएका सेवा केन्द्रबाट खरिद गर्न सक्नेछन् । यस कार्डको माध्यमबाट वास्तविक किसानको पहिचान गर्न पनि मद्दत मिल्ने बैंकले विश्वास लिएको छ ।
व्यावसायिक कृषि तथा पशुपालन र महिला उद्यमीलाई यसअघि देखि नै प्राथमिकता दिएको मेगाले कृषि क्षेत्रको वित्तीय आवश्यकतालाई सम्बोधन गर्दै व्यापक कृषि उत्पादनमा जोड दिने उद्देश्य लिएको छ । जसअनुसार, मेगा बैंक र आर एण्ड डी ईनोभेटिभ सोलुसनसँग सम्झौता समेत भइसकेको छ । किसानहरुको प्रबर्धन गर्दै प्राविधिक सेवा समेत उपलब्ध गराँउदै आएको आर एण्ड डीसँगको सम्झौतापछि व्यावसायिक किसानहरुलाई अनुदान ऋण लिन थप सहज हुने बिश्वास बैंकले लिएको छ ।