काठमाडौं, फागुन २८ । नयाँ नोट छपाइ गर्न नेपाल राष्ट्र बैंकले आधा दर्जन बिदेशी कम्पनी छानेको छ । पहिलो चरणमा नेपाली नोटको डिजाईन, छपाई, नोटको आपुर्ती र डेलिभरी सम्वन्धी सम्पुर्ण सेवाको लागि छ वटा बिदेशी कम्पनीहरुलाई छनौंट गरिएको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन बिभागले जानकारी दिएको छ ।
बिभागका अनुसार नोट छपाईको लागि प्रारम्भिकरुपमा छनौटमा पर्ने कम्पनीहरुमा चीनको ‘चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेशन’, बेलायतको ‘डि ला रुई इन्टरनेसनल लिमिटेड’, जर्मनीको ‘गिसिक डेभ्रियन्ट करेन्सी टेक्नोलोजी जिएमबिच’, रसियाको ‘जोइन्ट स्टक कम्पनी’, फ्रान्सको ‘अर्बथर फिड्युसेरी एसएएस’ र पोल्याण्डको ‘पोलिस सेक्युरिटिज प्रिन्टिङ वक्र्स’ रहेका छन् । प्रारम्भिक चरणमा छनौंटमा परेका यि आधा दर्जन कम्पनीहरुले आगामी दुई वर्षसम्म हरेक पटकको छपाइको बोलकबोल प्रक्रियामा प्रतिस्पर्धा गर्न सक्ने मुद्रा व्यवस्थापन बिभागले जानकारी दिएको छ ।