पोखरा, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चैत ५ गतेदेखि मित्रराष्ट्र चीनको छेन्दुसम्म पहिलो व्यावसायिक चार्टर्ड उडान गरिने भएको छ । विमानस्थल उद्घाटन भएको दुई वर्षसम्म पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको अवस्थामा पहिलोपटक व्यावसायिक चार्टर्ड उडान गर्न लागिएको हो ।पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखराबाट अन्तर्राष्ट्रिय विमान सुचारु गर्नको लागि पटकपटक राज्यका सम्बन्धित उच्च निकायमा ध्यानाकर्षण गरिरहँदा पनि उडान सुचारु हुन नसकेको बताए । सरकारले चासो नदेखाएपछि निजी क्षेत्रका पर्यटन व्यवसायीले नै पोखरा पर्यटन परिषद्को नेतृत्वमा नेपालस्थित चिनियाँ राजदूतावास र सिचुवान एयरलाइन्ससँगको सहकार्यमा यो अन्तर्राष्ट्रिय उडान गर्न लागिएको जानकारी दिए । उनका अनुसार यसमा विशेषतः चीनस्थित चाइना ट्राभल्स इन्टरनेसनल छेन्दुले सुरुआती उडानहरूमा सहकार्य गरिरहेको छ । नेपालस्थत चाइनिज ओभरसिज एसोसिएसनले पनि संयोजनकारी भूमिका निर्वाह गरेको उनले जानकारी दिए ।
आगामी तीन महीनासम्मको अवधिमा करिब एक हजार २५० जना चिनियाँ पर्यटक चीनको सिचुवान प्रदेशबाट हवाईमार्गबाट सिधा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराउन प्रयासरत रहेको चिनियाँ दूतावास, सिचुवान एयरलाइन्स र चाइना ट्राभल इन्टरनेसनल छेन्दुले जानकारी गराएको उनले बताए । सुरुवाती चरणमा केही व्यावसायिक चार्टर्ड उडानबाट सुरु गरेर यसलाई व्यावसायिक उडानमा परिणत गरी नियमित अन्तर्राष्ट्रिय उडान गर्ने कार्यको लागि पोखरा पर्यटन परिषद् र समग्र पर्यटन व्यवसायीहरू निरन्तर प्रयासमा लागिरहेको परिषद्ले जनाएको छ ।
पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानको प्रयासस्वरूप पहिलोपटक व्यावसायिक चार्टर्ड उडान हुन लागेको बताउँदै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले अब चार्टर्ड मात्र नभई नियमित उडान हुनुपर्ने बताए । ठूलो जनसंख्या रहेको चीनबाट पर्यटक भित्र्याउन सकिएमा त्यसले पोखरासहित समग्र नेपालको पर्यटनमा महत्वपूर्ण योगदान पुग्ने उनले बताए । नेपालस्थित चिनियाँ राजदूतावासका डीसीएम वाङ सिनले पोखराबाट हुन लागेको व्यावसायिक चार्टर्ड उडानले पोखराको समग्र आर्थिक एवं पर्यटकीय विकासमा महत्वपूर्ण योगदान पु¥याउने बताए । नेपाल चीनबीचको वर्षौंदेखिको सम्बन्ध आगामी दिनमा थप प्रगाढ बन्दै जाने उनको विश्वास छ ।
उडानको तालिकाअनुसार चैत ५ गते छेन्दुबाट बिहान १० बजे एक सय २७ जना चिनियाँ यात्रु लिएर विमान पोखरा विमानस्थल अवतरण गर्नेछ । उक्त दिन दिउँसो १२ बजे एक सय २७ जना पोखराबाट पर्यटन व्यवसायी छेन्दु प्रस्थान गर्नेछन् । उक्त व्यावसायिक चार्टर्ड उडानमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने, पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीलगायत सहभागी बन्ने जनाइएको छ ।
पहिलो व्यावसायिक उडानका क्रममा हुने सात रात आठ दिनसम्मको कार्यक्रममा विशेषतः सिचुवान प्रदेशको छेन्दु, लुझेउ, इमी, लिसन, छोङछिङ केन्द्रित रही त्यहाँका पर्यटन विकास, विस्तारका बारेमा जानकारी लिइने परिषद्का महसचिव जीवनराज सापकोटाले जानकारी दिए । त्यस्तै, नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाली महावाणिज्य दूतावास छेन्दुको सहकार्यमा छेन्दु र छाउछिङमा क्रमशः १९ र २२ मार्चमा नेपाल ईभिङ र सेल्स मिसन गर्न लागिएको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख मणिराज लामिछानेले जानकारी दिए । त्यस्तै, पोखरा महानगरपालिकाका प्रमुखको नेतृत्वमा लुझोउ सहरमा केही विशिष्ट व्यक्तिहरूसहित समकक्षीसँग भेटवार्ता एवं महत्वपूर्ण विषयमा छलफल गरिने जनाइएको छ ।