काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिहीन, दलित, सुकुम्वासीले छिट्टै प्रक्रिया पूरा गरेर लालपुर्जा वितरण गर्ने बताएका छन् । लालपूर्जा वितरणको लागि भूमि आयोग र भूमि अध्यादेशमार्फत प्रक्रिया अघि बढिरहेको उनले जानकारी दिए ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय र दलित अधिकार तथा विकास केन्द्र नेपालले संयुक्तरूपमा आयोजना गरेको कार्यक्रममा उनले राष्ट्रिय भूमि आयोगले देशभर भूमिहीन, दलित र सुकुम्वासीलाई कानुनी प्रक्रिया पूरा गरेर वास्तविक भूमिहीनलाई जग्गा वितरण गर्ने प्रक्रिया अघि बढाएको स्पष्ट पारे ।
दलित समुदायले वषौंदेखि भोग्दै आएका भूमि क्षेत्रका समस्या र भूमिमा खोजिरहेको स्वामित्वबारे आफू जानकार रहेको उनको भनाइ छ । अहिले जारी भएको भूमि अध्यादेश दलित, भूमिहीनहरूको समस्या समाधानका लागि सहजीकरण गर्न ल्याइएको उनले बताए ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रभु हजारा पासवानले देशभरकै भूमिहीन दलितहरूको भूमि समस्या समाधानका लागि यो सरकारले परिणाममुखी काम गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा भूमि क्षेत्रका दलित अधिकारीकर्मीको सहभागिता रहेको थियो ।