काठमाडौंको चिसो छल्न पोखरा गएका पूर्वराजा ज्ञानेन्द्रको परिवार गएको आइतबार काठमाडौं फर्कियो । हरेक वर्ष कहिले कता कहिले कता जाँदै फकर्ने गरेका उनको यो पटकको फर्काइ भने विगतको भन्दा भिन्न रह्यो । राजावादी भनी चिनिने आधा दर्जनजति दल र समूहले गरेका प्रदर्शनले संसद् र सडकमा नै एकप्रकारको तरङ्ग ल्यायो ।यो प्रदर्शनी राजतन्त्र फर्काउने भन्ने सन्दर्भको थियो । पृष्ठभूमिमा यिनै पूर्जराजाले प्रजातन्त्रका दिवसमा पोखराबाट जारी गरेका भिडियो सन्देश थियो जसमा आफू प्रत्यक्ष शासनमा आउने तयारीमा लागेको भन्ने सङ्केत गर्दै आम नागरिकलाई समर्थन गर्न आह्वान गरेका थिए ।स्वाभाविक छ पूर्वराजाले यस्तो आह्वान गरेपछि राजावादीहरू उत्साहित हुने नै भए । भीड पनि जम्मा भयो । राजाको यो सन्देशको सार गणतन्त्रको समाप्ति पनि थियो, जसले राजावादीहरूलाई त्यस दिन एक ठाउँमा ल्यायो ।
तर, अस्वाभाविक कहाँनेर प्रकट भयो भने आफूलाई सबैभन्दा ठूलो गणतन्त्रवादी नेता भनी चिनाउने यतिबेलाका प्रमुख प्रतिपक्षदलका नेता माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि १०÷१५ हजारको यो भीडाबाट लोभिए ।त्यसै पनि प्रचण्डको परिचय जता भीडभाड देखिन्छ त्यतै ढल्कने नेताका रूपमा स्थापित छ । तर, यो पटकको उनको ढल्काइले गणतन्त्रकै विरुद्धमा लागेको अर्थ लाग्नेजस्तो देखियो ।जब राजावादीहरूले गणतान्त्रिक नेताहरूलाई तथानाम गाली गर्दै थिए त्यसको लगत्तै बसेको प्रतिनिधिसभाको बैठकमा प्रचण्डले विशेष समय लिएर बोले । त्यसमा उनले अहिलेको सरकारलाई यसरी गाली गरे जो राजावादीहरूले सडकमा गरेका भन्दा चर्को थियो । उनले यो गणतान्त्रिक सरकारको आठ महिनाको समय नै तोकेर भने, ‘यसको कामकुराले नै राजा सडकमा आएका हुन् ।’यता राजाको पोखरा सन्देशले भने सरकारको आठ महिना होइन विगत ३० वर्षकै बेथितिको कुरा गरेका छन् जसमा प्रचण्डका तीनवटा कार्यकाल पनि पर्छन् । प्रचण्ड मात्र होइन राजाको सातवर्षे कार्यकाल पनि यसभित्र नै पर्छ ।
गएको मगलबार राजाले प्रत्यक्ष शासनमा आउने सङ्केत गरेको र राजावादीहरूको साथमा राजा नै त्यस्तो प्रदर्शनमा उत्रिएपछि पहिलो पटक यो विषयले गएको मगलबार संसद्मा प्रवेश पायो । प्रखर गणतन्त्रवादी नेता प्रचण्डले राजावादीहरू सल्बलाएकोमा व्यापक विरोध र गणतन्त्रवादीहरूबीच एकता गराउने प्रयास गर्लान् भन्ने थियो । त्यस दिन सम्बोधन गर्दा उनको उल्टो रूप प्रकट भयो । प्रचण्डका त्यस दिनको सम्बोधनका केही अंश–
‘राजावादीका पछि संगठित प्रयास छ भन्ने कुरा हामीलाई थाहा छ । यसमा देशभित्र र देश बाहिरका चलखेल पनि मिसिएका छन् । तर, यस खालका चलखेल आज मात्र भएका होइनन् । नेपालमा यस्ता खालका चलखेलहरू हिजो पनि थिए, अस्ति पनि थिए । तर, अहिले किन वृद्धि भयो मुख्यतः प्रश्न यहाँनिर रहेको छ । पछिल्लो आठ महिनामा सत्तामा रहेका पार्टीहरूले प्रदर्शन गरेका शासकीय शैली र त्यसबाट उत्पन्न असन्तोष नै यसको मूल कारण हो भनेर बुझ्न अब कठिनाइ छैन । आज म चेतावनीका साथ भन्न चाहन्छु नेपालको शान्ति प्रक्रिया मात्र होइन गणतन्त्रको इतिहास पनि बडो मौलिक र निकै उदार रहेको छ । संसारभरिको गणतन्त्रको इतिहासमा राजतन्त्रको रगतले गणतन्त्र लेखिएको पाइन्छ । तर, नेपाल त्यसको अपवाद बन्यो । वर्तमान सरकारले लोकतन्त्रको लक्ष्मण रेखा नाघेको छ । दुई तिहाइको वर्तमान सरकार नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको लागि घातक हुने देखिँदैछ ।
यो दुई तिहाइ नै नेपालको लोकतन्त्रको लागि, नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको लागि घातक हुने त होइन भन्ने प्रश्न जनताको मनमा जन्मिसकेको छ । यसमा तपाईँहरूलाई गम्भीररूपमा सोच्न अनुरोध मात्र गर्न सक्छु अहिले । यो संख्याको अहङ्कार त छँदै छ । त्यो अहङ्कारबाट सत्ताको दुरुपयोग सुरु भयो । प्रतिपक्ष र जनताको रचनात्मक खबरदारीलाई सरकारले कुनै भाउ नदिएकै कारण आज जनता सडकमा ओर्लिने अवस्था आएको छ । र तपाईँहरूलाई लागेको होला हामीसँग दुई तिहाइ छ कसले के गर्न सक्छ ? सर्वप्रथम त तपाईँले लोकतन्त्रको लक्ष्मण रेखा नाघ्ने गर्नुभएको छ ।अहिले राजावादी साथीहरू सम्मानित संसद्मै हुनुहुन्छ । लोकतन्त्र र राजतन्त्रको तुलना हुनै सक्दैन भन्ने राम्रो उदाहरण यो भन्दा केही हुन्छ र ? एउटा विचारका रूपमा राजतन्त्रसँग मेरा असहमति छन्, तर म लोकतान्त्रिक हकको सम्मान गर्दछु । एक सय छ वर्षअघि राजतन्त्र समाप्त भएको रुसमा अझै राजतन्त्रवादी पार्टी अस्तित्वमा छन् । फ्रान्समा अन्तिम राजतन्त्र सकिएको एक सय ७५ वर्ष भयो, अझै पनि त्यहाँ राजतन्त्र फर्काउन चाहने पार्टी अस्तित्वमा छन् । सर्बिया, बुल्गेरिया, इरान, अफगानिस्तानमा पनि राजावादीको स–सानो उपस्थिति देखिएकै छ ।’
फागुन ७ मा राजाले दिएको भिडियो सन्देशमा भने बितेको ३० वर्षलाई उनको पनि त्यो भाषणको अंश –
आज देशको इतिहास मेटिँदै गएको छ । नेपालको अस्तित्व नासिँदै गएको छ । नेपालका होनहार जनशक्ति दिनहुँ ताँती लागेर देशबाट बाहिरिँदै गएका छन् । नेपालीको पसिना आफ्नो माटोमा होइन, अन्तै पोखिइरहेको छ । जन्मँदै नेपालीको शिरमा हजार होइन, लाखको ऋणभारको बोझ छ । हाम्रा कलकारखाना, व्यापार, व्यवसाय निरन्तर धराशायी बन्दैछ । हुँदाहुँदा हाम्रा शिक्षालयहरूमा समेत शिक्षक र विद्यार्थीहरू पातलिँदै गएका छन् ।
नेपालको पद्धति, नीति र गतिविधि ठीक छैन, यहाँ बसेर केही हुँदैन, श्रम, सीप, चेतना र ज्ञान भएका हाम्रा नागरिकहरूमा त्यस प्रकारको भाष्य चलिरहेको छ । यस्ता कुराले प्रजातन्त्रलाई शोभनीय बनाउँदैन । प्रजातन्त्र आशा जगाउने प्रणाली हुनुपर्दछ । जनताको भरोसा जगाउने प्रणाली हुनुपर्दछ । प्रजातन्त्र फल्दै, फुल्दै जाँदा हामी सबैको भाग्य र भविश्य चम्कन्छ भन्ने भावना जागरण गराउने हुनुपर्दछ ।तर, तीन दशकयताको हाम्रो स्थिति यस्तो छैन । आम जनताको मुहारमा मुस्कान ल्याउने, जनतालाई खुशी र सुखी बनाउने सबैले खोजेको र हामीले चाहेर रोजेको पनि त्यही प्रजातान्त्रिक व्यवस्था हो । व्यवस्था बदलियो भन्नेहरूले अवस्था राम्ररी बदल्न नसक्नु दुःखद कुरा हो ।
अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कामय राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशबासीलाई आह्वान गर्दछौँ ।प्रचण्ड आफैँले भनेको आठ महिना अगाडिसम्म भने उनी आफैँ प्रधानमन्त्री थिए । पछिल्लो आम निर्वाचनपछिको १८ महिना उनले शासन गरेका हुन् । उनका अनुसार यो आठै महिनामा अचानक वृद्धि किन भयो ? पछिल्ला आठ महिनामा सत्तामा रहेका पार्टीहरूले प्रदर्शन गरेको शासकीय शैली र त्यसबाट उत्पन्न असन्तोष नै यसको मूल कारण हो भन्ने बुझ्न अब कठिनाइ छैन ।
गणतन्त्रविरुद्धको प्रदर्शनीमा आफूले नै गणतन्त्र ल्याएको भनेर दाबी गर्ने नेताले गरेको यस्तो हलुका टिप्पणीप्रति विज्ञहरू पनि उदेक देखिन्छन् । राजनीतिक शास्त्रका एक जना विश्लेषक लोकराज बराल भन्छन् –
‘हिजो प्रचण्ड पनि लामो समय सत्तामा बसे । उनले आठ महिनाअघि मिराकल गरेको र आज कांग्रेस–एमालेले रातारात सबै बिगारेर राजावादी सक्रिय भए भन्ने भाष्य र आरोप गलत छ । सत्तामा हुँदा सबैले कमजोरी देखाएका छन् । ओली, देउवा र प्रचण्डमा कुनै भिन्नता छैन । तर, अहिले आएर सबै ओली र देउवाले मात्रै बिगारे भनेर जिम्मेवार नेताले यति संवेदनशील गणतन्त्रको मुद्दामा राजनीति मिसाउन हुँदैन ।’
यसअघि प्रचण्डले यो व्यवस्था फेर्न खोजेको भनेर राजावादी दल राप्रपाका वरिष्ठ उपाध्यक्षले नै वताए थिए । प्रचण्डसँग गएको असोज ८ को एउटा भेटको प्रसङ्ग उल्लेख गर्दै उनले आफ्नो सञ्जालमा भनेका थिए–
हिजो कार्यक्रम (मल्ल होटल)मा भेट भयो । आज वर्षौँपछि प्रचण्डनिवासमा भेट भयो ।
‘अब देश यस्तो विन्दुमा पुग्यो कि राजसंस्थालाई पुनस्र्थापित नगर्ने हो भने यो देश ‘बिस्फोटनको अवस्था’ तिर उन्मुख हुँदैछ । र, त्यतिबेला तपाईँहरूको ‘अग्रगमन’, नाम र शालिक केही बाँकी रहने छैन ।’ लामो व्याख्यासहित सारमा मैले यही भनेँ । त्यसपछि उहाँका केही टिप्पणी अर्थपूर्ण लाग्यो ः
१. यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा म पनि पुगिसकेँ । आजभोलि प्रशिक्षणमा यही भनिरहेको छु ।
२. पछिल्लो पटक प्रधानमन्त्री हुँदा नेपालका उद्योगधन्दाहरूको सबै विवरण मागेर हेरेको त पञ्चायतकालमा धेरै राम्रो काम भएको रहेछ । राजा महेन्द्र त गज्जबका ‘भिजनरी’ राजा रहेछन् ।
३. द्वन्द्वका बेला मेरा केही साथी राजसंस्थाका बारे पूरै नकारात्मक थिए । म त देशको हित हुन्छ भने राजासँग मिलेरै गए पनि राम्रो हुन्छ भन्ने पक्षमा थिएँ ।
४. राजा ज्ञानेन्द्रले पनि २०६२÷०६३ को आन्दोलनको ताका अलि नरम भइदिएको भए आज परिस्थिति अर्कै हुन्थ्यो ।
५. देशमा विदेशी हस्तक्षेप चरम अवस्थामा पुगेको सही हो ।
६. अहिले पो प्रधानमन्त्री भएँ । युद्ध गर्दा त मरिन्छ–बाँचिन्छ, थाहा थिएन । देश बनाउनै भनेर सारा गरेको हो । अहिले पनि मेरो भावना देश नै बनाउनु पर्छ भन्ने हो । तर, अब यसरीचाहिँ हुँदैन ।
७. म अहिले नै तपाईँको विचारसँग सहमत हुने स्थितिमा त पुगेको छैन । तर, राति सुत्ने बेलामा सोच्नचाहिँ पर्ने अवस्था छ । ‘निरन्तरतामा क्रमभंगता’ अत्यावश्यक भइसक्यो ।