विश्वभर नै सहरको विकास र सौन्दर्य त्यसको भौतिक संरचना, यातायात व्यवस्थापन, सडक अनुशासन तथा आमनागरिकको चेतनास्तरमा निर्भर गर्छ । काठमाडौं उपत्यका हेर्दा यस्तो देखिन्छ कि हामी योजनाविहीनरूपमा अगाडि बढिरहेका छौँ । घरबाट सडकम निस्कनासाथ अस्तिभन्दा हिजो, हिजोभन्दा आज र आजभन्दा भोलि अवस्था झन् बिग्रिँदै गएको अनुभूति हुन्छ ।
काठमाडौं उपत्यका सानो त छँदैछ, त्यसलाई जबर्रजस्ती साँघुरो पनि बनाइएको छ । यस्तो सानो र साँघुरो ठाउँमा धेरै गाडी चल्ने, जथाभावी पार्किङ गर्ने, कुनै ट्राफिक अनुशासन नमान्ने, अनावश्यक हर्न बजाउने, लेन अनुशासनको पालना नगर्ने प्रवृत्तिले गर्दा काठमाडौंको सडक अस्तव्यस्त बनेको जो कसैले सहजै अनुभव गर्छन् । सहरको सौन्दर्य सडकको व्यवस्थापनमा निर्भर गर्छ । तर काठमाडौंमा यसको कुनै सन्तोषजनक स्थिति छैन र तत्काल सुधार हुने संकेत पनि देखिएको छैन ।
सडकमा सवारी साधन चलाउने चालकहरू सबैजना हतारमा देखिन्छन् । पर्खने, अत्यावश्यक सवारीलाई बाटो दिने कसैलाई मतलब छैन । सबैमा देखिएको हतारको कारण केही मिनेटको यात्रालाई पनि लामो समय लाग्दै आएको छ । जथाभावी ढंगले गाडी रोकिने, बाटो काट्ने, ट्राफिक नियम नमान्ने र अनुशासनहीनताले यात्रु तथा पैदलयात्रु दुवैलाई असहजता महसुस हुन्छ ।
सानो दुर्घटना वा सामान्यरूपमा एउटा गाडीले अर्को गाडीलाई छोए मात्रै पनि ठूलो समस्या उत्पन्न हुने गरेको देखिन्छ । दुर्घटनापछि झगडा गर्ने, सानो कुरालाई ठूलो विवाद बनाउने प्रवृत्तिले गर्दा सडकमा अनावश्यक जाम लाग्ने गरेको छ । जामको असर सहरभरि पर्न जान्छ, जसले गर्दा अन्य यात्रुहरूमा झनै तनाव बढ्ने गर्छ । जामले अझ सार्वजनिक सवारीमा यात्रा गरेर तोकिएको समयमा कार्यालयमा विद्युतीय हाजिर गर्नैपर्ने वर्गलाई बढी पिरोलेको देखिन्छ ।
सार्वजनिक यातायात प्रणालीमा सुधार गर्ने प्रतिबद्धता संघ, प्रदेश र स्थानीय सरकारले गर्दै आए पनि त्यसमा सुधार हुन सकेको छैन । अझ भन्दा सुधारको वैज्ञानिक प्रयास नै प्रारम्भ हुन सकेको छैन । अत्यधिक भीडभाड, असुविधाजनक बस बिसौनी, अव्यवस्थित बस सञ्चालन, अनि यात्रुहरूलाई हुने असहजताले गर्दा सर्वसाधारणले अझै पनि सहज यात्राको अनुभव गर्न सकिरहेका छैनन् । काठमाडौंमै सार्वजनिक यातायातको अवस्था हेर्ने हो भने यसले सर्वसाधारणलाई दिक्क पार्ने स्तरको समस्या निम्त्याइरहेको छ ।
यातायात समस्या समाधान गर्न यातायात व्यवस्था विभाग, महानगरपालिका, ट्राफिक प्रहरी र अन्य सरोकारवाला निकायहरूबीच प्रभावकारी समन्वय आवश्यक छ । सहकार्य गरी योजनाबद्धरूपमा सुधारात्मक कदम चाल्न सकियो भने केही हदसम्म समस्या कम हुन सक्थ्यो भन्ने सबैलाई थाहा छ । तर कोही पनि ठोस प्रयास गर्न अगाडि बढ्दैनन् । सबै यही अस्तव्यस्ततामा रमाइरहेका छन् ।
एकाधबाहेक काठमाडौंका अधिकांश सडकको अवस्था दयनीय नै देखिन्छ । खाल्डाखुल्डी परेका सडक, धुलो–मैलोले भरिएका बाटा, उचित सडक संकेत नहुनु, लेन अनुशासनको पालना नगर्नु, सार्वजनिक यातायातको दयनीय अवस्था, अनि निजी सवारी साधनको अत्यधिक चापले गर्दा सहरको आवागमन व्यवस्थापन अस्तव्यस्त भएको छ । अझ स्वरोजगार सिर्जना गराएको पठाओ, इनड्राइभजस्ता व्यवसायले त दुईपाङ्ग्रे सवारी साधन मोटरसाइकल र स्कुटरको वृद्धिले सहरमा आवागमनमा अस्तव्यस्तता थप गरिदिएको छ ।
अझै पनि धेरै स्थानमा सडक मर्मत तथा निर्माण कार्य चलिरहेको छ । सडक पनि कतै संघ, कतै प्रदेश र कतै स्थानीय तहले समन्वय नगरी मर्मत र पुनःनिर्माण गरिरहेका छन् । यस्ता कार्यहरू बेलामा सम्पन्न नहुँदा यात्रु तथा चालकहरू सास्ती भोग्न बाध्य बनेका छन् । ट्राफिक व्यवस्थापनका लागि नयाँ प्रविधिको प्रयोग अपरिहार्य भइसकेको छ। काठमाडौं उपत्यकाभित्र सीसीटीभी क्यामेरा जडान गरेर ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई निगरानी गर्ने र जरिवाना असुल गर्ने प्रणाली प्रभावकारी बनाउन सकिन्छ । तर उक्त प्रविधि भित्र्याउने बारेमा ठोस निर्णय गर्न सरकारी निकायले सकिरहेको छैन ।
साथै, पैदलयात्रुहरूका लागि सुरक्षित पैदलमार्ग निर्माण गर्न जरुरी छ । अहिले पैदलयात्रीहरू जथाभावी बाटो काट्ने, फुटपाथमा अवरोध हुने, अनि यातायात जाम बढाउने काम भइरहेको छ । यदि उचित सडक संकेतहरू, जेब्राक्रसिङ तथा भूमिगत वा उडान पुलहरू निर्माण गरिए भने पैदलयात्रु र सवारी चालक दुवैलाई सहजता हुने थियो ।
काठमाडौं उपत्यकामा भौतिक संरचनाहरू छरपस्टरूपमा विस्तार भइरहेका छन् । उचित योजनाविना नै निर्माण गरिएका घर, सटर तथा व्यावसायिक कम्प्लेक्सहरूले ट्राफिक व्यवस्थापनलाई झनै जटिल बनाइरहेको छ ।
त्यसैगरी, अस्वच्छ वातावरण पनि काठमाडौंको अर्को जटिल समस्या बनेको छ । प्रदूषित हावा, धुलोयुक्त सडक, नाली सफाइको अभाव, ढल व्यवस्थापनको असन्तोषजनक स्थितिजस्ता कारणले गर्दा आम नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेको छ ।
यसका साथै सहरभित्र सार्वजनिक शौचालयहरूको अभाव, फोहोर व्यवस्थापनमा चरम लापरबाही, फोहोर संकलन प्रणालीको कमजोर अवस्था आदि समस्याहरूले काठमाडौंलाई अझ बढी बस्न अयोग्य सहर बनाइरहेको छ ।
सडक अनुशासन पालना गराउनेतर्फ सरकारले कडा नीति ल्याउन आवश्यक छ । नियम सबैका लागि समान हुनुपर्छ । तर नेपालमा भीआईपी व्यक्तिहरूका लागि विशेष सुविधा हुने, ट्राफिक नियम तोड्दा पनि सजाय नपाउने, साइरन बजाएर ट्राफिक जाम पार गर्ने प्रवृत्तिले आमसर्वसाधारणमा असन्तोष बढाएको छ ।
सडक सबै नागरिकका लागि साझा सम्पत्ति हो । त्यसैले अरूलाई असुविधा हुने गरी सडक अवरुद्ध पार्ने धर्ना, जुलुस तथा अन्य अवरोधहरू पूर्णरूपमा निषेध गरिनुपर्छ । नागरिकको आन्दोलन गर्न पाउने अधिकार भए पनि त्यसका लागि अन्य वैकल्पिक स्थानहरू तोक्न आवश्यक छ ।
साथै, सडकमा हुने अव्यवस्थित पार्किङ नियन्त्रण गर्न ट्राफिक प्रहरीले थप निगरानी बढाउनु जरुरी छ । मुख्य सडक तथा चोकहरूमा अनधिकृत पार्किङ गर्ने, बस तथा ट्याक्सी जथाभावी रोक्ने कार्यलाई निरुत्साहित गर्न जरिवाना कडाइ गर्नुपर्छ ।
सार्वजनिक यातायातलाई व्यवस्थित गर्न के गर्ने ?
नियमित बस सेवाको पवर्घन–सहरका मुख्य मार्गहरूमा नियमित अन्तरालमा बस सेवा उपलब्ध गराउनुपर्छ । साँझ पर्न थाल्नासाथ सार्वजनिक यातायातका साधन सडकमा नदेखिने अवस्थाको अन्त्य गरिनुपर्छ ।
रुट व्यवस्थापन – विभिन्न रुटहरू समायोजन गरी यात्रुलाई कम समयमा गन्तव्यमा पु¥याउने योजना ल्याउनुपर्छ । अहिले रुट दिने कार्यमा वैज्ञानिकता नै छैन ।
इलेक्ट्रोनिक टिकट प्रणाली–नगद लेनदेन घटाउने तथा पारदर्शिता बढाउने उद्देश्यले इ–टिकेट प्रणाली लागू गर्न सकिन्छ । पुराना र धुवाँ फाल्ने सवारी हटाउने – अत्यधिक प्रदूषण फैलाउने पुराना सवारी साधनलाई हटाएर वातावरणमैत्री यातायात व्यवस्थालाई प्रोत्साहन गर्नुपर्छ ।
एप बनाउन सुरु गर्न
यदि यातायात व्यवस्थापन सुधार गर्न सकियो भने काठमाडौंलाई सुन्दर र व्यवस्थित सहर बनाउन सकिन्छ । सरकार, ट्राफिक प्रहरी, नगरपालिकासँगै सर्वसाधारण नागरिकहरू पनि सचेत भएर आफ्नो कर्तव्य निभाउने हो भने मात्रै यो समस्या समाधान हुन सक्छ ।
सडक अनुशासन कायम गर्ने, अव्यवस्थित पार्किङ हटाउने, सार्वजनिक यातायात व्यवस्थित गर्ने, पैदलयात्रीका लागि उचित व्यवस्था गर्ने, ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कडाभन्दा कडा कारबाही गर्नेजस्ता उपायहरू अवलम्बन गरिए भने मात्रै काठमाडौंको अस्तव्यस्तता कम हुन सक्छ ।
काठमाडौंलाई व्यवस्थित बनाउने जिम्मा केवल सरकारको मात्र होइन, हामी सबै नागरिकको पनि हो । सहरलाई सुन्दर र व्यवस्थित बनाउने जिम्मेवारी सडक प्रयोगकर्ता सबैको केही नै केही छ । अब समय आएको छ–जहाँ हामी व्यक्तिगत लाभभन्दा सहरको दीर्घकालीन सुधारलाई प्राथमिकता दिऔँ । गर्न नखोज्ने हो भने जतिसुकै सजिला काम पनि असम्भव हुन्छ । प्रयास गर्ने हो भने हरसमस्या समाधान गर्न सकिन्छ । कतै विरोध वा कसैले मुद्दा हालिदिने डरले काठमाडौंको यातायात प्रणालीलाई सुधार गर्न कसैले पनि ठोस प्रयास थालेको देखिँदैन ।
प्रयासविना प्रतिफलको कल्पना गर्नु बेकार छ । काठमाडौं अस्तव्यस्त हुनुको कारण नै यातायात व्यवस्थापनको लागि वैज्ञानिक तरिकाले अध्ययन र अनुसन्धान नगर्नु हो । वैज्ञानिक तरिकाले गरिएको अध्ययन/अनुसन्धानबाट प्राप्त निचोडलाई निडरताका साथ कार्यान्वयन गर्ने हो भने यो सानो र जबरजस्ती साँघुरो पारिएका काठमाडौंलाई पनि व्यवस्थित बताउन सकिन्छ । तर, त्यसका लागि काम गर्ने अधिकार पाएको व्यक्ति तथा निकायको इच्छाशक्ति हुनैपर्छ ।