काठमाडौं । रङहरूको पर्व फागु अर्थात् होली काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली पर्व बिहीबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइएको हो ।
काठमाडौंको बसन्तपुर, भक्तपुरको तचपालस्थित भीमसेन मन्दिर, पाटनको कृष्णमन्दिर परिसरमा बिहीबार होली खेल्नेको भिड लागेको थियो । यसैगरी काभ्रेको बनेपा, पनौती, साँखु, पोखरा, हिमाली तथा पहाडी जिल्लाका सदरमुकाम तथा बजारहरूमा होलीको विशेष रौनक छाएको हो । तराई–मधेशका जिल्लामा भने शुक्रबार होली धुमधामले मनाइँदै छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागतरूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभावका साथ आफन्तजन एवं साथीसँगीसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने पर्व भएकाले फागुलाई आपसी मेलमिलाप र सद्भावनाको पर्वका रूपमा पनि लिइन्छ । फागुलाई असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको पर्वको रूपमा समेत लिइन्छ ।
फागु पर्वसम्बन्धी विभिन्न धार्मिक कथन, किंवदन्ती रहेका छन् । शास्त्रानुसार हिरण्यकश्यपु नामका राक्षसको छोरा प्रह्लाद असाध्यै विष्णु भक्त थिए । उनको विष्णु भक्तिले सारा राक्षसी साम्राज्य नै हल्लिन थालेपछि प्रह्लादलाई मार्न हिरण्यकश्यपुले अनेक हतकण्डा अपनाउँदा पनि प्रह्लादलाई केही हुँदैन । हिरणकश्यपुकी बहिनी होलिकालाई उनको तपस्याबाट प्रसन्न भएर अग्नि देवले आगोले छुन नसक्ने वरदान दिएको किम्बदन्ती छ । यस्तैमा एक दिन हिरण्यकश्यपुले आफ्नी बहिनी होलिकालाई प्रयोग गरी विष्णुभक्त छोरा प्रह्लादलाई अग्निमा दहन गर्ने योजना बनाउँछ । सो योजनाअनुसार होलीका प्रह्लादलाई काखमा राखी अग्निमा बस्छन् । तर प्रह्लादको सच्चा भक्तिले गर्दा होलीका जलेर मृत्यु भएको र भक्त प्रह्लादलाई आगोले छुन नसकेको खुसियालीमा होली पर्व मनाउन थालिएको भनाइ छ । कतै फागु पर्वलाई भगवान् कृष्णसँग पनि जोडिएको पाइन्छ ।
फागु पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिँदै आएको छ । यसअनुसार बिहीबार पहाडी जिल्लामा र शुक्रबार तराई–मधेशका जिल्लामा सार्वजनिक बिदा दिइएको छ ।
सभ्य बन्दै होली
यस्तै, पछिल्लो समय होली परिष्कृत समेत बन्दै गइरहेको छ । केही वर्षअघिसम्म होलीका दिन घरबाहिर निस्कनेलाई बाल्टीका बाल्टी पानी खन्याइन्थ्यो । जबरजस्त अबिरलगायत रङ दलेर मानिस नचिनिने गरी रङ्ग्याइन्थ्यो । रङ र पानी मिलाएर घोलिएको रासायनिक पदार्थलाई बटुवालाई समस्या पारिन्थ्यो । तर विगत केही वर्षअघिदेखि सांस्कृतिक सहर काठमाडौंमा होली पर्व अनुशासित भइरहेको देखिन थालेको छ । छिटफुटबाहेक फागु पर्व नमनाएका मानिस सडकमा हिँड्दा पनि कसैले पानी र रङ लगाइदिएको छैन ।
विशेषगरी युवतीलाई लोलामा पानी भरेर एक हप्ताअघिदेखि नै छ्यापेर मनोवैज्ञानिकरूपमा बाहिर निस्कन नसक्ने वातावरण बनाइन्थ्यो । यस वर्ष फागु पर्वकै दिन पनि सहजरूपमा हिँडडुल गर्न सकेको सडकमा भेटिएका धेरैले बताएका छन् । कतै अपवादका रूपमा जबर्जस्ती रङ लगाए पनि फोहोर पानीले दुव्र्यवहार नगरेको उनीहरूको भनाइ छ । यस पर्वका उपलक्ष्यमा रमाइलोका निम्ति गाँजा, भाङ, जाँड–रक्सीजस्ता नशालु पदार्थको सेवन गरी गुन्डागर्दी गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रासायनिक पदार्थ प्रयोग गर्ने तथा सवारीसाधन समेतमा लोला हिर्काउनेजस्ता विकृति पनि कम हुँदै गएको छ ।