बिर्तामोड । झापाको कनकाई नगरपालिका ४ स्थित कोटीहवन कनकाई सामुदायिक वन नजिक एक युवकले आफ्नो शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका छन् ।
सुनसरी इनरुवा ९ बलाह बस्ने १९ वर्षीय मिकेश चौधरीले बिहीबार दिउसो १२ः२५ बजे पेट्रोल खन्याएर आत्मदाह गर्ने प्रयास गरेका हुन् । प्रहरीलाई स्थानीयले खबर गरेपश्चात् उद्धार गरी बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको लागि लगिएकोमा उपचार सम्भव नभएपछि थप उपचाकारका लागि विराटनगर पुर्याइएको छ । हाल गम्भीर अवस्थामा रहेका उनको उपचार भइरहेको छ ।
कोटीहोम दक्षिणपट्टिको सडकमा आफ्नी प्रेमिकासँग हिँड्दै गर्दा उनीहरूबिच विवाद भएको थियो । चौधरीले विवादका क्रममा आफ्नी प्रेमिका र आफूमाथि पेट्रोल छर्केर सँगै आत्मदाह गर्ने कोसिस गर्दा प्रेमिकाले भागेर ज्यान जोगाएकी छिन् भने उनले आफ्नो शरीरमा आगो सल्काएका थिए । चौधरी थरकी ती युवतीलाई घटनापछि प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय खुरुङ्गाका अनुसार घाइतेको दुवै हात र पिसाब थैलीको केही भाग, कम्मरको भाग र दुवै कानसहित शरीरको ६० प्रतिशत भाग जलेको छ ।