सर्लाही । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले सर्लाही सदरमुकाम मलङ्गवामा सञ्चालित अस्पतालको बिहीबार राति अनुगमन गर्दै अवैध ढङ्गले सञ्चालित १५ वटा अस्पताल बन्द गर्न निर्देशन दिएका छन । सिंहले दर्ता बिना सञ्चालित १५ वटा निजी अस्पताल तथा पोलिक्लिनिक तत्काल बन्द गर्न निर्देशन दिएका हुन् ।
मुख्यमन्त्री सिंहले प्रदेश सरकार मातहतको प्रादेशिक अस्पताल मलङ्गवा र अन्य १८ वटा निजी अस्पतालको अनुगमन गरेका छन् । उनले प्रादेशिक अस्पताल मलङ्गवाको आकस्मिक कक्षमा जनशक्ति व्यवस्थापन गर्न, अन्तरङ्ग कक्षमा लेखिएका एम्बुलेन्स चालकको नम्बर तत्काल मेट्न र अस्पतालको क्यान्टिनमा खुवाइने खानामा स्वच्छता कायम गर्न अस्पतालका प्रमुखलाई निर्देशन दिएका छन् । बिहीबार साँझदेखि नै मलङ्गवाका अधिकांश निजी अस्पताल र पोलिक्लिनिकका सञ्चालक तथा कर्मचारीहरु मुख्यमन्त्री अनुगमनमा आएको थाहा पाउनासाथ अस्पताल बन्द गरेर भागाभाग गरेका थिए ।
मुख्यमन्त्रीसँगै अनुगमनमा रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, मधेश प्रदेशका जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरले मलङ्गवाका चार÷पाँच वटा बाहेक अन्य निजी स्वास्थ्य संस्थामा ताल्चा लगाएको पाइएको जानकारी दिए । यसअघि सर्लाहीकै नवलपुरमा मुख्यमन्त्री सिंह अनुगमनका लागि आउँदा यसै गरी अवैध अस्पताल सञ्चालकको भागाभाग मच्चिएको थियो ।
मुख्यमन्त्री सिंहले दर्ता भएर नवीकरण दुरुस्त नरहेका जयश्री ओम हेल्थ केयर, तिरुपती बालाजी पोलिक्लिनिक र बह्मभूमि हेल्थ रिसर्च प्रालिलाई दुुई महिनाभित्र नवीकरण गराउन निर्देशन दिएका छन् ।
उनले मलङ्गवामा अवैध तथा अनाधिकृत ढङ्गले सञ्चालित दिनकर अस्पताल, म्याक्स अस्पताल, इन्डो नेपाल आँखा अस्पताल, चन्द्रकला पोलिक्लिनिक, कान्तिपुर डेन्टल एव एक्स(रे क्लिनिक, प्रेमा हेल्थ क्लिनिक, मिथिला डेन्टल क्लिनिक, रामावतार पेन पारालाइसीस सेन्टर, कल्याण हेल्थ केयर, शीतल डेन्टल क्लिनिक, सर्लाही कम्युनिटी हेल्थ केयर, गुप्ता क्लिनिक, सर्लाही पोलिक्लिनिक, सिद्धिदाता हेल्थ केयर र देवश्री पोलिक्लिनिक बन्द गर्न निर्देशन दिए ।