काठमाडौं । महिलाको आर्थिक सशक्तीकरण गर्न सके मात्रै सिँगो समाज र देश समृद्ध हुने सरोकारवालाहरूले बताएका छन् । ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपाल केन्द्रीय महिला उद्यमी समितिको प्रथम साधारणसभामा सहभागीहरूले महिलालाई आर्थिकरूपमा सक्षम बनाउनुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले महिलाहरू आर्थिकरूपमा सशक्त भए मात्रै समाज र देशकै अर्थतन्त्रमा परिवर्तन हुने बताइन् । आर्थिकरूपमा सबल नहुँदासम्म महिलाहरूले आफ्नो अधिकार प्राप्त गर्न नसक्ने उनको भनाइ छ । महिला उद्यमी र व्यवसायीलाई निर्धक्कसँग स्वच्छ व्यवसाय गर्न आग्रह गर्दै उनले राज्य संयन्त्र सञ्चालनको बारेमा जानकारी राख्न समेत सुझाव दिईन् । ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपाल केन्द्रीय महिला उद्यमी समितिका अध्यक्ष विष्णुमाया उचहीले महिलालाई सफल उद्यमी बनाउन महिलामैत्री नीतिको खाँचो औँल्याइन् । महिलालाई उद्यमशील बनाउन तालिमका साथै आर्थिक र प्रविधिक क्षेत्रको सहज पहुँच हुनुपर्ने उनको भनाइ छ । महिलाहरू आर्थिकरूपमा सशक्त भएकै कारण महिलामाथि हुने हिंसा समेत कम हुँदै गएको उनले बताइन् ।
कार्यक्रममा ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालका अध्यक्ष ठूलोबाबु श्रेष्ठले महासंघले सामूहिक नेतृत्वको विकास गर्ने तथा प्रभावशाली उत्तराधिकारी उत्पादन गर्ने कुरामा काहीँकतै कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता जनाए । महासंघका संस्थापक अध्यक्ष मधुबहादुर कार्की, निवर्तमान अध्यक्ष मोहन कटुवाल, नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रीय महिला उद्यमी समितिका वरिष्ठ उपाध्यक्ष रीता अवाल, ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालका महासचिव विवेकदास श्रेष्ठ, ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपाल केन्द्रीय महिला उद्यमी समितिका सदस्य प्रभा घिमिरेलगायतले महिला उद्यमीको प्रवद्र्धनमा जोड दिएका थिए ।
कार्यक्रममा महासंघ केन्द्रीय महिला उद्यमी समितिका सदस्यहरू अनिता प्रधान अमात्य, अम्बिका बस्नेत, विमला कुवँर शेख, मिश्रिमाया श्रेष्ठ, रजनी श्रेष्ठ, शोभा श्रेष्ठ, सुनकेशरी श्रेष्ठ र तारा बुढाथोकीलाई सम्मान समेत गरिएको थियो ।