काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले फागु विशेष कार्यक्रम आयोजना गरेको छ । महासंघले सचिवालयमा होली पर्वको अवसरमा फागु विशेष शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको हो ।
सो कार्यक्रममा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले वसन्त ऋतुको आगमनसँगै आउने फागु पर्व आपसी मेलमिलाप र सद्भावनाको पर्व रहेको उल्लेख गरे । उनले नेपालमा पर्वहरूले समेत आन्तरिक अर्थतन्त्र चलायमान बनाउने बताए । यस्तै, महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले बहुभाषिक, बहुजातीय तथा बहुसांस्कृतिक मुलुक नेपालमा चाड पर्वहरूले आमनेपालीहरूलाई एक सूत्रमा बाध्ने गरेको उल्लेख गरे । महासंघको खेलकुद तथा मनोरञ्जन फोरमका सभापति अध्यक्ष हरि बहादुर कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासंघका एसोसिएट उपाध्यक्ष ज्योत्र्सना श्रेष्ठ, निर्यात प्रवर्द्धन समितिका सभापति नरेशलाल श्रेष्ठ, स्थल यातायात तथा पारवहन समितिका सभापति शिवप्रसाद घिमिरेलगायतले शुभकामना दिएका थिए । कार्यक्रममा महासंघका पदाधिकारी सदस्य तथा अन्य उद्योगी व्यवसायीहरूको सहभागिता रहेको थियो ।