काठमाडौं । काबरा ग्रुपले आफ्ना उत्पादनहरू भारतको सबैभन्दा ठूलो ट्रेड फेयर ‘आहार’ मा प्रर्दशनी गरेको छ । भारतस्थित दिल्लीको प्रगति मैदानमा हालै आयोजित सो ट्रेड फेयरमा पहिलो पटक नेपालबाट सहभागी भएको काबरा ग्रुपले आफ्ना लोकप्रिय उत्पादनहरू बिस्कुट, स्न्याक्स तथा नुडल्सहरू प्रदर्शनीमा राखेको थियो ।
काबरा ग्रुपले क्वालिटी फुड एन्ड स्न्याक्स प्रालि, क्वालिटी फुड्स नेपाल प्रालि र क्वालिटी नुडल्स इन्डस्ट्रिज प्रालिका उत्पादनहरू प्रदर्शनीमा राखेको थियो । ट्रेड फेयरमा आकर्षकरूपमा सिँगारिएको स्टलमा प्रदर्शित बिस्कुट, नुडल्स तथा स्न्याक्सहरू अवलोकनकर्ताहरूको आकर्षणको केन्द्रमा रहेको कम्पनीले जनाएको छ । कम्पनीले नौलो स्वाद र आकर्षक प्याकेजिङका साथ प्रस्तुत गरेको ‘ज्याकपोट’ ब्रान्डका नुडल्स तथा स्न्याक्सहरूप्रति सर्वसाधारण तथा उद्योगी व्यवसायीले उत्साहजनकरूपमा अवलोकन गरेका थिए । सो ट्रेड फेयरमा भारतीय व्यवसायीहरूले प्रदेश र क्षेत्रगत सुपर डिस्ट्रिब्युटर्स, सोल डिस्ट्रिब्युटर्स र रिजनल डिस्ट्रिब्युटर्सको प्रस्तावनाहरू पेश गरेका थिए भने तेस्रो मुलुकबाट आएका व्यवसायीहरूले पनि डिस्ट्रिब्युटरका लागि आ–आफ्नो प्रस्तावहरू पेश गरेका थिए ।
ट्रेड फेयरमा प्राप्त भएको यो सफलताले प्रोत्साहित काबरा ग्रुपले आउँदो वर्षमा अनुमानित दुई सय करोडमाथिको निर्यात गर्ने लक्ष्य राखेको जनाएको छ । ग्रुपअन्तर्गतका बिस्कुट, स्न्याक्स तथा नुडल्स उद्योगहरू वर्तमानमा श्याम काबराका छोरा सिद्धार्थ काबरा र राजेश काबराका छोरा मिलिन्द काबराले सम्हालिरहेका छन् । उद्योगहरूको जिम्मेवारी सम्हालेको छोटो समयमा नै उनीहरूले कारोबारमा दिनानुदिन वृद्धि गर्दै विशेषतः नुडल्स तथा स्न्याक्स सेगमेन्टमा ‘काव्स ज्याकपोट’ लाई भारतीय बजारमा स्थापित ब्रान्डकोरूपमा ब्रान्डिङ गराएका छन् । साथै, सार्क मुलुकका अन्य देशहरू पनि कम्पनीको उत्पादनहरू निर्यात हुँदै आएको छ ।