बाँके । बाँकेको डुडुवामा रहेको जयन्दु बाल सुधारगृहमा झडप भएपछि उक्त सुधार गृहलाई अहिले प्रहरीले नियन्त्रमा लिएको बुझिएको छ । शुक्रबार राति सुधारगृहमा लालबन्दीबीच झडप हुदा ६ जना घाइते भएका थिए । झडपमा संलग्नता रहेको आंशकामा प्रहरीले ५० जना बालबन्दी नियन्त्रणमा लिएको बताएको छ । लामो समयको प्रयासपछि बाल सुधारगृहमा छिरेर बालबन्दीलाई नियन्त्रणबाट मुक्त गराउन सफल भएको बाँके प्रहरीले बताएको छ ।
बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीको नेतृत्वमा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बालसुधार गृहमा प्रवेश गरेर नियन्त्रणमा लिन सफल भएको थियो ।उनले सो क्रममा बालबन्दीहरुको ढुंगा प्रहारबाट केही प्रहरी घाइते भएका छन् । यसअघि बालसुधार गृहलाई नियन्त्रणमा लिएर माथि छतबाट प्रहरीमाथि बालबन्दीहरुले ढुंगा प्रहार गरेर भित्र पस्न दिएका थिएनन् । बालसुधार गृहको दोस्रो तल्लामा उनीहरुले आगजनी गरेर केही क्षति भएको प्रहरीले जनाएको छ ।
आगो निभाउन त्यहाँ पुगेको दमकललाई समेत भित्र पस्न नदिएको र पटक पटक वार्ताका लागि आह्वान गर्दा पनि नसुनेपछि प्रहरी बलपूर्वक भित्र पसेको र नियन्त्रणमा लिएको बाँके प्रहरीले बताएका छ । बाल सुधारगृहमा बालबन्दीबिचको झडपमा परेर घाइते भएका ६ जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।