सुबास बस्नेत
दोलखा, साउन १२
जिल्लाको वैतेश्वर गाउँपालिकाद्वारा सञ्चालित वैतेश्वर अस्पतालले अब दाँत तथा आँखा रोगको उपचार सेवा विस्तार गर्ने भएको छ । गाउँपालिकाभित्र दन्त तथा आँखा रोगको उपचार गर्ने अन्य व्यवस्थित अस्पताल नभएकाले अस्पतालले भदौको पहिलो सातादेखी थप दुई सेवा आँखा र दातको उपचार विस्तार गर्न लागेको वैतेश्वर अस्पतालका व्यवस्थापक देवराज खत्रीले जानकारी दिए ।
भर्खरै बसेको अस्पताल व्यवस्थापन समितिको निर्णयले आँखा तथा दन्त रोग विशेषज्ञ स्वास्थ्यकर्मी करारमा राखेर अस्पतालले सेवा विस्तार गर्ने तयारी गरेको हो । गाउँपालिकाले सञ्चालन गरेको उक्त अस्पतालमा बिरामीको भीड लाग्ने गरेको छ । संघीय सरकारको अघिल्लो आर्थिक वर्षको निति तथा कार्यक्रममा १५ शैयाको अस्पताल स्तरोन्नति गर्ने नीतिअनुरूप वाग्मती प्रदेशका २० स्वास्थ्य चौकीहरू सूचीकृत भए पनि अस्पताल सञ्चालन गर्ने वैतेश्वर गाउँपालिका पहिलो भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम फुयाँलले बताए ।
२०७६ फागुन १६ गतेको स्वास्थ्य मन्त्रीस्तरीय निर्णयबाट १५ बेडको वैतेश्वर अस्पताललाई मान्यता प्राप्त भएको अस्पताल व्यवस्थापक खत्रीले जानकारी दिए । अस्पतालले मान्यता पाएपछि थप पूर्वाधारका लागि २० लाख विनियोजन गरी स्वास्थ्यकर्मी तथा प्राविधिक कर्मचारीहरूको व्यवस्थापनसहित दुई महिनादेखि अस्पताल पूर्णरूपमा सञ्चालनमा ल्याइएको व्यवस्थापक खत्रीको भनाइ छ ।
अस्पतालमा एमबीबीएस डाक्टरसहित २३ जना कार्यरत रहेका उनले जानकारी दिए । उनले आगामी दिनमा अस्पतालको जग्गा ३ रोपनीबाट थप गरी ९ रोपनी पु-याइने बताए । अस्पतालमा भिडियो एक्सरे, ईसीजी, प्याथोलोजी ल्याब, एक्सरे, सामान्य शल्यक्रिया सेवा उपलब्ध गराइने बताइएको छ । अस्पतालले फार्मेसीबाहेकका सेवामा स्थानीयहरूलाई न्यून शुल्कमा स्तरीय सेवा उपलब्ध गराइरहेको छ ।
सेवाग्राहीले सुलभ ढंगले उपचार पाउनसक्ने व्यवस्था होस् भन्ने उद्देश्यले गाउँपालिकाले अस्पताल सञ्चालनमा ल्याएको वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले जानकारी दिए । अध्यक्ष लामाले उक्त अस्पतालमा चाँडै दाँत तथा आँखा रोग विशेषज्ञ कर्मचारी करारमा राखेर थप दुई सेवा विस्तार गर्न लागिएको जानकारी दिए । वैतेश्वर अस्पतालले अहिले ७२ किसिमका रोगको निःशुल्क सेवा दिइरहेको छ ।