काठमाडौं ।कांग्रेसका नेता भनिएका बीपी विचार समाजका अध्यक्ष डा. केदार नरसिंह केसीले आफूविरुद्ध आएको समाचारको खण्डन गर्न भनेर आयोजना गरेको पत्रकार सम्मेलनमा उल्टै आरोप स्वीकार गरेका छन् । तारकेश्वर नगरपालिका–९, मनमैजुस्थित लोकतान्त्रिक चोकमा रहेको सरकारी जग्गा ओगटेको विषयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूले आफ्नो जग्गाको छेउबाट बाटो खुलाउँदा आफ्नो जग्गा परेकोले तत्कालीन मालपोत अधिकृतसँगको मिलेमतोमा सरकारी जग्गासँग सट्टापट्टा गरेर मिलान गरेको स्वीकार गरेका हुन् ।
सार्वजनिक बाटो खोल्दा सार्वजनिक वा निजी जसको जग्गामा परे पनि खोल्ने गरिएकोमा डा. केसीले मालपोत अधिकृतसँगको सेटिङमा आफ्नो जग्गा बाटोमा परेर घट्ने भएपछि आफ्नो जग्गासँगै रहेको सरकारी जग्गासँग आफ्नो जग्गा साटेर बाटो सरकारी जग्गामा पारेर अरु कसैलाई नभएको सुविधा लिएर सरकारी जग्गा मिचेको स्वीकार गरेका हुन् ।
निजी जग्गामा बाटो पर्दा सरकारी जग्गा सट्टापट्टा दिने नीति बनाउने हो भने देशभरका निजी जग्गामा बनेको बाटोको सट्टापट्टामा सरकारी जग्गा दिनुपर्ने हुन्छ तर त्यो राज्यले गर्ने नगरेकोमा डा. केसीले भने यो सुविधा पाएका हुन् । डा. केसीले कित्ता नम्बर ६१ आफ्नो श्रीमतीको नाममा रहेको र कित्ता नम्बर ६२ सरकारको नाममा रहेकोमा बाटो पर्ने भएपछि सट्टापट्टा गरेर ६१ सरकारी र ६२ आफ्नो नाममा गरेको जिकिर गरे ।
पत्रकार सम्मेलनमा तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, कथित कांग्रेस नेता इन्द्रमान महर्जन वडा अध्यक्ष कुमार राई तथा स्थानीय साइला दाइ भन्ने एक स्थानीयले त्यस ठाउँमा दुधे बालक गाड्ने गरिएको भनिए पनि आफूहरूले नदेखेको बताए । दुधे बालक गाड्ने सरकारी जग्गा कांग्रेस नेता समेत रहेका डा. केसीले कब्जा गरेको विषय आर्थिक दैनिकले गत साउन २७ गतेको अङ्कमा प्रकाशन गर्दा तत्कालीन समयमा डा. केसीले गलत समाचार लेखेको भनेर प्रतिक्रिया दिएकोमा शनिबार आयोजित पत्रकार सम्मेलनमा आफूले छलकपट गरेर सरकारी जग्गा सट्टापट्टा गरेको स्वीकार गरेका हुन् ।
केही दिनअघि बसेको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद सुमना श्रेष्ठ र शिशिर खनालले लोकतान्त्रिक चोकको जग्गा कांग्रेस नेताको कब्जामा रहेको आरोप लगाएका थिए । आरोप खण्डन गर्दै डा. केसीले आफ्नो जग्गा बाटोमा जाने भएपछि छलकपट गरेर सरकारी जग्गालाई आफ्नो र आफ्नो जग्गालाई सरकारी बनाएको बताए ।