काठमाडौं,नेपाल आयल निगमले पेट्रोलियम इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आगामी १५ दिनका लागि आइतबार बिहानदेखि लागू हुनेगरी मूल्य घटाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर चार रुपैयाँले घटाएको छ । चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६० रुपैयाँ ५० पैसा, सुर्खेत र दाङ क्षेत्रमा एक सय ६२ रुपैयाँ र काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा एक कसय ६३ रुपैयाँ तोकेको छ ।
यस्तै डिजेल÷मट्टीतेलको मूल्य चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा प्रतिलिटर एक सय ४८ रुपैयाँ ५० पैसा, सुर्खेत र दाङमा एक सय ५० रुपैयाँ र काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा एक सय ५१ रुपैयाँ तोकेको छ ।निगमका प्रबन्ध निर्देशक चन्डीकाप्रसाद भट्टले इन्डियन आयल कर्पोरेसनबाट शनिबार प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोल, डिजेल र मट्टीतेलको खुद्रा मूल्य घटाइएको जानकारी दिएका छन् ।