सोलुखुम्ब, साउन १२
सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिका वडा नम्बर ३ छेस्काम निवासी एक किशोरीको शनिबार दिउँसो लेक लागेर मृत्यु भएको छ । साउन ४ गते साथीहरूसँग सोही गाउँपालिकाको वडा नम्बर २ र ३ को सीमानामा पर्ने धार्मिकस्थल पाँचपोखरीमा पसल राख्न हिँडेकी १९ वर्षीया भवीकुमारी कुलुङको लेक लागेर मृत्यु भएको हो ।
वडा नम्बर ३ को वक्तमेलवा भन्ने स्थानमा क्याम्प बनाएर बसेको समयमा उनलाई लेक लोगेपछि घरतर्फ झार्ने क्रममा शनिबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मन्दिप चौहानले जानकारी दिए । घटनास्थलमा प्रहरी चौकी छेस्कामको टोली पुगिसकेको र कानुन प्रक्रिया पूरा गरी आफन्तलाई जिम्मा लगाइने प्रहरीको भनाइ छ । भौगोलिक हिसाबले विकट मानिने घटनास्थल पुग्न जिल्ला सदरमुकामबाट २ दिन लाग्छ ।