पाल्पा । उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले पूर्व विशिष्टलाई सुविधा थप्ने सरकारको कुनै तयारी नभएको बताएका छन् ।
नेपाल पत्रकार महासंघ पाल्पाले शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सरकारले पूर्वविशिष्टलाई सुविधा थप्ने कुनै तयारी नगरेको दाबी गरे । यसअघिका सरकारले अगाडि बढाएको पूर्वविशिष्टको सुविधाको विषय सर्वाेच्च अदालत पुगेपछि कानुन बनाएर व्यवस्थित गर्ने गरी निर्देशनात्मक आदेश जारी भएको चर्चा गर्दै उनले भने, ‘पूर्वविशिष्टलाई सुविधा थप्ने गरी सरकारले गृहकार्य अघि बढाएको छैन । वर्तमान सरकारको सुविधा थप्ने सरकारको मनसाय छैन ।’
यस्तै, उपप्रधानमन्त्री सिंहले वर्तमान सरकार आर्थिक समृद्धि र विकासमा केन्द्रीत रहेको र सोहीअनुसार काम अघि बढाएको बताए । राजनीतिक स्थिरता नभई विकासको कामले गति लिन नसक्ने भएकाले अहिले कांग्रेस, एमालेसहितका दलहरू मिलेर सरकार बनेको उनको भनाइ थियो । उनले जनताको जीवन र जीविका सहज बनाउनु नै सरकारको प्राथमिकता रहेको बताए ।