काठमाडौं । प्रथम आईजीपी कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेश प्रहरी कार्यालय टिमले हात पारेको छ । मूलपानी क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा मधेशले लुम्बिनी प्रदेश प्रहरी कार्यालयको टिमलाई १४ रनले हराउँदै उपाधि जितेको हो ।
फाइनल खेलमा पहिलो ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा अलआउट हुँदै एक सय ६७ रन बनाएको थियो भने जवाफी ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ५३ रन मात्र बनाउन सकेको थियो । प्रतियोगितामा प्रथम हुने टिमले एक लाख रूपैयाँ र द्वितीय हुने टिमले ५० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । यसैगरी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १५ हजार रूपैयाँ र उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान तथा उत्कृष्ट प्रशिक्षकले जनही १० हजार रूपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक युवराज सेन ओली, उत्कृष्ट बलर सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी जवान पशुपति प्रकाश मल्ल तथा मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम शाह उत्कृष्ट प्रशिक्षक, प्रहरी जवान दिपेश राय उत्कृष्ट ब्याट्सम्यान र प्रहरी जवान मुनाल यादव फाइनल खेलका म्यान अफ दि म्याच घोषित भएका थिए ।
फाइनल खेलपछि आयोजित एक विशेष कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रतियोगितामा विजयी हुने मधेश टिमका खेलाडी तथा अफिसियलहरूलाई पदक, प्रमाण–पत्र, ट्रफी र नगद पुरस्कार प्रदान गरेका थिए । यस्तै, नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदीप गिरीले द्वितीय हुने लुम्बिनी टिमका खेलाडी तथा अफिसियलहरूलाई पदक, प्रमाण–पत्र, ट्रफी र नगद पुरस्कार प्रदान गरे । प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले निर्णायकहरू, प्रायोजकहरू तथा सहभागी टिमलाई प्रशंसापत्र एवम् मायाको चिनो प्रदान गरेका थिए भने प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई पुरस्कार प्रदान गरेका थिए ।
यस्तै, प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा सुन्दर प्रसाद ह्योजुले उत्कृष्ट प्रशिक्षकलाई, प्रहरी अतिरिक्त महानिरीक्षक दुर्गा सिंहले उत्कृष्ट बलरलाई, प्रहरी अतिरिक्त महानिरीक्षक कुवेर कडायतले उत्कृष्ट ब्याट्सम्यानलाई र प्रहरी अतिरिक्त महानिरीक्षक जनक भट्टराईले फाइनल खेलका म्यान अफ दि म्याचलाई पुरस्कार प्रदान गरे ।
कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले सुरक्षा निकायजस्तो शारीरिक र मानसिकरूपमा तन्दुरूस्त रहनुपर्ने क्षेत्रमा खेलकुदको महत्व अझ बढी हुने बताए । यस प्रतियोगिताले नेपाल प्रहरीको क्रिकेट खेलको स्तरलाई सुदृढ तुल्याउनुका साथै खेलाडीहरूको पहिचान तथा खेलको विकास र प्रवर्धनमा समेत योगदान पु¥याएको उल्लेख गरे । कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरूमा नेपाल प्रहरी संगठनमा आबद्ध खेलाडीहरूको सहभागिता र योगदानको कारण नेपाल प्रहरी संगठन र नागरिकबीचको सम्बन्ध समेत सुदृढ भएको बताए । नेपाल प्रहरीमा आबद्ध खेलाडीहरूले आगामी दिनहरूमा समेत आफ्नो उत्कृष्ट प्रदर्शनमार्फत संगठन र राष्ट्रका श्रीवृद्धिका अवसरहरू सिर्जना गर्ने उनको विश्वास थियो । नेपाल प्रहरीमा खेलकुदको विकास, प्रवर्द्धन र खेलाडीहरूको मनोबलका लागि संगठन सदैव सकारात्मक रहेको उनले उल्लेख गरे ।
नेपाल प्रहरी खेलकुद समिति महाराजगञ्जको आयोजनामा फागुन २७ गतेबाट सुरू भएको उक्त प्रतियोगिता शनिबार सकिएको हो । प्रतियोगितामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र सातवटै प्रदेश प्रहरी कार्यालयका गरी आठ टिमको सहभागिता रहेको थियो । फाइनल खेल हेर्न प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल क्रिकेट संघका पदाधिकारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिलगायत सहभागी थिए ।